फिचर | पढ्नै पर्ने |

नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्ने पर्यटक सिमकोटमा 

राजन रावत

हुम्ला, भदौ ८ गते । नेपाली भूमि लाप्चा क्षेत्रबाट पवित्र धार्मिक स्थल मानसरोवर कैलाशको दूरदर्शनका लागि पर्यटकहरुको टोली सिमकोट आइपुगेको छ । सिमकोटबाट पैदल मार्ग भएर लाप्चा पुग्न पर्यटकहरु आइपुग्नुभएको हो । 

द टेकर्स सोसाइटीका पथप्रदर्शक राजन अधिकारीका अनुसार ४६ जना पर्यटकहरु नेपालगञ्जदेखि हवाई मार्गबाट सिमकोट आइपुगेको बताउनुभयो । सदगुरुसँग मानसरोवर कैलाशको दूरदर्शन नेपाली भूमि लाप्चा क्षेत्रबाट गर्ने टोली सिमकोट आइपुगेको हो । काठमाडौँ हुँदै नेपालगञ्जदेखि हवाई मार्गबाट पर्यटकहरु सिमकोट आइपुगेका हुन् । पर्यटकहरु भारत, अमेरिका, फ्रान्स, रसिया, कोरिया, मलेसिया, जर्मन, अष्ट्रेलिया लगाएतका देशका एनआरएहरु रहनुभएको छ । हुम्ला आइपुगेका पर्यटकहरु बुधवार मात्र पैदल मार्गबाट लाप्चा क्षेत्रतर्फ लाग्नेछन् ।

सिमकोट उत्रेका पर्यटकहरुलाई होटेल व्यवसायी विजय लामाले खादा लगाएर विमानस्थलमा स्वागत गर्नुभएको थियो । हुम्ला आई पुग्नुभएका पर्यटकहरु एक रात सिमकोटमा बस्नुहुनेछ । यसअघि ५५ जना कुक, गाइडहरू सिमकोट आइपुगेका थिए । कोरोना सङ्क्रमणका कारण पर्यटकहरुलाई सिमसार क्षेत्र र खेल मैदानमा बस्नका लागि टेन्टको व्यवस्था गरिएको छ । पर्यटकहरु सिमकोट उत्रिएसँगै चहल पहल भने बढेको छ । पथप्रर्दशक अधिकारीका अनुसार बुधवार बिहानै सदगुरुको नेतृत्वमा पैदल मार्गबाट लाप्चातर्फ टोली लाग्नेछ । टोलीले पहिलो बास सिमकोटमा बस्ने पर्यटकहरुको टोली दोस्रो बास भने नाम्खा गाउँपालिका–१ को लेकधिंगामा बस्नेछ भने तेस्रो बास चार हजार आठ सय मिटर अग्लो स्थान सेलीबाङ तालमा बस्नेछ ।

चौथो बास भने लिमीको ताक्चीमा बस्ने व्यवस्था गरिएको छ । दैनिक चार घण्टा मात्र पैदल यात्रा गर्ने पर्यटकहरुको टोलीले यी बास बस्ने स्थानमा दुई रात बिताउनेछ । पैदल यात्री एघारौँ दिनमा लाप्चा क्षेत्रमा पुगेर मानसरोवर कैलाशको दर्शन गर्ने कार्य तालिका छ । नेपाली भूमिबाट दर्शन गर्ने र मौसममा खराबी आए दुई दिन ढिलो पनि हुन सक्ने जनाइएको छ । मानसरोवर कैलाशको दर्शनपछि लाप्चा क्षेत्रबाट हेलिकोप्टरमा टोली सिमकोट फिर्ता हुनेछ । यात्राका क्रममा पैदल, गाडी, मोटरसाइकल र घोडाको यात्रा गर्ने तयारी गरिएको छ । यसका लागि २५ जना स्थानीय भरिया पनि तयार गरिएको छ ।