फिचर | पढ्नै पर्ने |

बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने

काठमाडौँ, भदौ ९ गते । आज रातिदेखि नेपालमा मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर नेपालको पूर्वी तराईको भूभाग नजिक मनसुनको न्यूनचापीय रेखा रहेका कारण विगत एक–दुई दिनअगाडि नेपालमा मनसुन केही सक्रिय रहेको जनाएको छ ।

विभागका अनुसार आज रातिदेखि उक्त न्यूनचापीय रेखा अझ तराई भूभाग नजिक आउने र केही दिनसम्म सोही क्षेत्रमा रहने भएकाले सो प्रणालीका कारण देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा–झरीको सम्भावना छ ।

प्रदेश नं १, २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १, २ बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।