फिचर | पढ्नै पर्ने |

नारायणगढ–मुग्लिनः सडक भासिए पनि यातायात अवरोध छैन

चितवन, भदौ ११ गते । नारायणगढ–मुग्लिन सडक खण्डको चौधकिलोमा सडक भासिए पनि सवारी आवागमनमा कुनै अवरोध भएको छैन । सो क्षेत्रमा सडक फराकिलो भएकाले दुईतर्फी यातायात सञ्चालनमा कठिनाइ नभएको डिभिजन सडक कार्यालयले जनाएको छ ।

सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएझँै सडक भासिएकै कारण सवारी आवागमन नरोकिएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी ई. शिव खनालका अनुसार सो ठाउँमा ३८ मिटर लामो भाग भासिएको छ । सो क्षेत्रमा बढीमा चार मिटर फराकिलो क्षेत्र भासिएको उहाँले जानकारी दिनुभयो । दुई मिटर गहिराइसम्म सडक भासिएको छ । खनालले भन्नुभयो, “सो ठाउँमा सडक १३÷१४ मिटर फराकिलो भएकाले चार मिटर भासिएर सडक रोकिँदैन ।” भासिएको क्षेत्र बाहेकमा दुईतर्फी सवारी सञ्चालन भइरहेको उहाँको भनाइ छ ।

सडक भासिएको ठाउँबाट करिब २० मिटर तल त्रिशूली नदी छ । नदीको कटानले सडक भासिएको अनुमान गरिएको छ । नदीको सतह घटेपछि तलबाट मर्मत थालिने खनालले जानकारी दिनुभयो । सडक भासिएको ठाउँमा पर्खाल लगाएर सडक सुरक्षित गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । सोही सडकको सेतीदोभानमा खसेको पहिरो पन्छाएपछि आज बिहान ९ बजेदेखि सडक दुईतर्फी नै सञ्चालनमा छ । नियमित वर्षा भइरहेकाले जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम भने रहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले बाहिर सञ्चारमाध्यममा आएजस्तो सडक बन्द नरहेको प्रस्ट पार्नुभयो । उहाँका अनुसार सडक भासिएको ठाउँमा यातायात अवरुद्ध भएको छैन । वर्षासँगै एकाएक सो ठाउँमा सडक भासिएको हो । बिहीबारदेखि यो सडक भासिन सुरु भएको र आज पनि थप भासिएको हो ।