फिचर | पढ्नै पर्ने |

चौध वर्ष पछि कोरियाबाट फर्केर कृषि कर्म

नवीन शिशिर विक
बागलुङ, भदौ १३ गते । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४ वर्ष विदेशी भूमि दक्षिण कोरियामा बिताउनुभयो । कामदारको रुपमा कोरिया पुग्नुभएको पुनले कडा मेहनत र परिश्रम के हो भन्ने शिक्षा कोरिया बसाइले सिकायो । मेसिनको गतिमा हुने काम, काम प्रतिको लगाव, मेहनत र श्रम प्रतिको सम्मानबारे गतिलो ज्ञान प्राप्त भयो ।
१४ वर्ष कोरियामा श्रम गरेर फर्कनुभएका पुनले नेपाल फर्केर माछा पालन सुरु गर्नुभएको छ । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गा भाडामा लिएर माछा तथा कृषिफर्म सञ्चालन गर्नुभएको हो । ६० वर्षीय पुनको दिनचर्या कृषिफर्ममा बित्ने गरेको छ ।
करिब ४५ लाख रुपियाँ लगानी गरेर फर्म सञ्चालन गरेको पुनले जानकारी दिनुभयो । फर्म सञ्चालनको सुरुवात समूहगत रुपमा भए पनि अहिले एक्लै थाम्नुभएको । विगत चार वर्षदेखि फर्म सञ्चालनमा छ ।
तीन वटा माछापोखरीमा ग्रास, काव कमन, सिल्भर कार्प गरी पाँच किसिमका माछा पाल्नुभएको छ । निषेधाज्ञाको समयमा ५० हजार भुरा माछा पोखरीमा हालेको पुनले बताउनुभयो । ‘माछा उत्पादन राम्रो थियो’ उहाँले भन्नुभयो–‘बजार उकालो लाग्ने बेला कोरोनाले असर ग-र्याे ।’ परिवारका अन्य सदस्यलाई आफ्नै देशमा उद्यमी बन्न प्रेरणा दिने लक्ष्यका साथ कृषि कर्मका लागेको पुनले बताउनुभयो । मासिक ५० हजारको माछा विक्री हुन्छ ।
‘विदेशको दुःख जे भोग्नु मैले भोगे’ उहाँले भन्नुभयो–‘अब कामको लागी कुनै पनि सदस्य विदेश जानु नपरोस् भन्ने उद्देश्य छ ।’ पुनले स्थानीय जातको कुखुरा, बट्टाई चरा, हाँस व्यावसायिक रुपमा पाल्नुभएको छ । काली गण्डकी किनारमा रहेको कृषिफर्ममा आफ्नो उत्पादनको बजारीकरण गर्न रिसोर्ट सञ्चालनको तयारी गरेको उहाँले बताउनुभयो । माछा पारखीहरु फर्ममै किन्न जाने गर्छन् ।