पुरैना ताल क्षेत्रमा १२ वर्षपछि सारसको ‘कमब्याक’
अविनाश चौधरी
धनगढी, भदौ २७ गते । कैलालीको भजनी नगरपालिका–७ पुरैना ताल क्षेत्रमा १२ वर्षपछि दुर्लभ सारस चराको पुनरागमन भएको छ ।
वासस्थान मासिएपछि एकाएक गायब भएका सारस चरा यो वर्ष फेरि पुरानै ताल क्षेत्रमा देखा परेका हुन । एक जोडी सारस सो क्षेत्रमा केही दिनदेखि बसिरहेको स्थानीयले जानकारी दिएका छन् ।
बसन्ता जैविक मार्ग र दुधुवा नेशनल पार्क जोड्ने पुरानै ताल विगतमा सारसको वासस्थानको रुपमा चिनिएको थियो । तर, सन २००९ मा मोहना नदीको बाढीले तालको स्वरूप तहसनहस गरेपछि सारस पनि गायब भएका थिए । नदीले बिगारेको तालमा मानवीय हस्तक्षेप बढेपछि अहिले तालको नामनिसान छैन ।
खेतीयोग्य जमिनमा परिणत भइसकेको ताल क्षेत्रमा पानी जमेपछि यो वर्ष सो ठाउँमा सारस आइपुगेको चराविद् हिरुलाल डङ्गौराले बताउनुभयो । ‘ताल क्षेत्रमा पानी र अग्ला अग्ला धान छ’, उहाँले भन्नुभयो । ‘त्यहि धानमा एक जोडी सारस देखा परिरहेका छन् ।’
पुरानो थातथलोमा सारसको पुनरागमन भएपछि संरक्षणकर्मीमा उत्साह छाएको छ । एक दशकभन्दा अगाडि नै छोडिसकेको ठाउँमा फेरि पनि सारस आइपुग्नु सुखद रहेको डङ्गौराले उल्लेख गर्नुभयो । संरक्षणको अवस्था सुधारोन्मुख बन्दै जाँदा कैलालीमा सारस देखा परिरहेको उहाँको भनाइ छ । दुई वर्ष अगाडि भजनी नगरपालिकाकै मन्त्रीफाँटामा तीन वटा सारस देखा परेका थिए । यसैगरी, गत वर्ष कञ्चनपुरको बेलौरी नगरपालिकास्थित पुरैनी तालमा र बेल्डाँडी गाउँपालिकाको चवन्नी, कालीकिच क्षेत्रमा सारस देखिएका थिए ।
सारसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसीएन) ले विश्वमा दुर्लभ चराको सूचीमा राखेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार नेपालमा यसलाई संरक्षित पक्षी मानिन्छ । यसको सिकार वा अण्डा नष्ट गर्ने कार्य गरेमा पाँच सयदेखि एक लाख रुपियाँसम्म जरिवाना वा तीन महिनादेखि दुई वर्षसम्म कैद अथवा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।
कुनै बेला नेपालको तराई क्षेत्रमा धेरै मात्रामा देखिने सारस हाल रुपन्देही र कपिलवस्तु जिल्लामा सीमित भएका छन् । पंक्षी संरक्षण संघ (बीसीएन) नेपालका अनुसार नेपालमा करिब ४०० देखि ७५० वटासम्म सारसको सङ्ख्या रहेको छ । विश्वमा पाइने १५ प्रजातिका सारसमध्ये हाम्रो देशमा कालो टाउके, लक्ष्मण, कर्याङ–कुरुङ र सारस गरी चार प्रजातिका सारस पाइने गर्दछन् ।
सारस विश्वकै सबैभन्दा अग्लो स्थानसम्म उड्ने चरा हुन । करिब पाँच फिट अग्लो हुने यो चराको तौल १० केजीसम्म हुन्छ । सारसले खुल्ला सिमसार, सिञ्चित धान खेत, पोखरी, ताल आसपासका क्षेत्रमा अण्डा पारेर बच्चा कोरल्ने गर्दछन् ।
यी चराले सर्पको सङ्ख्या नियन्त्रण गर्नुका साथै बालीका लागि हानिकारक शङ्खे र अन्य किरा तथा स–साना अरू जीवलाई खाएर अन्न उत्पादनमा सहयोग पुर्याउने गरेको बताइन्छ । यसैगरी, सारसले बाघ, चितुवा जस्ता हिंस्रक जनावरहरु नजिक आउन लागेमा कराएर जानकारी दिने हुँदा हिंस्रक जनावरको आक्रमणबाट जोगिनका लागि मान्छेलाई सघाउने गरेको विश्वास गरिन्छ ।