फिचर | पढ्नै पर्ने |

तीन हजार लगानी, दैनिक पाँच हजारसम्मको व्यापार

शिवकुमार काशी
हेटौँडा । भदौ २९ गते । बेरोजगारीका कारण दैनिक पन्ध्र सय युवाहरु वैदेशिक रोजगारीमा जाने गरेको सरकारी तथ्याङ्क आइरहँदा स–साना काम गरेर पनि नेपालमै स्वरोजगार हुन सकिन्छ भन्ने उदाहरण बनेका छन् हेटौँडाका फुटपाथमा पैदल हिँडेर कफी बेच्ने दाजुभाइले । 
हुन त उहाँहरु दुबै जना भारतीय नागरिक हुनुहुन्छ । १५ वर्षदेखि बुवा सुबल हुसेन हल्दारले हेटौँडाका फुटपाथमा डुलाएर गर्दै आएको चिया र कफीको ब्यापार यतिखेर २१ बर्षीय सुखेन हुसेन हल्दार र उहाँका दाजुले सम्हाल्नुभएको हो । कलकत्ता घर भएका सुखेनका दाजुभाइले छुट्टाछुट्टै रुटमा बागमती प्रदेशको राजधानी हेटौँडामा कागजको गिलासमा चिया र कफीको व्यापार गर्दै आइरहनुभएको छ । 
पाँच वर्षदेखि स्टोभ र किट्ली बोकेर दैनिक पैदल यात्राकै भरमा दाजुभाइले गरेको चिया र कफीको व्यापारबाट लगभग एक लाख रुपियाँसम्म कमाई हुने गरेको सुखेन हल्दार बताउनुहुन्छ । व्यापारका लागि सुखेन दाजुभाइले किट्ली र स्टोभमा ३ हजार रुपियाँ लगानी गर्नुभएको छ भने दैनिक दूध, कफी र गिलासमा लगानी हुने गरेको छ । 
“बर्खाको बेला हिँड्न अलिक गाह्रो हुन्छ”, कफीको किट्ली बोक्दै हिँडिरहनुभएका सुखेन भन्नुहुन्छ–“औसतमा एकजनाले गरेको व्यापारबाट १५ सय रुपियाँ दैनिक कमाइ हुने गरेको छ ।” सुखेनका अनुसार दाजुभाइले गर्दा औसत दैनिक ४५० कप कफी बिक्री हुन्छ । 
हेटौँडा २ मा छुट्टाछुट्टै डेरा लिएर बसेका दाजुभाइले हेटौँडाका फुटपाथ र पसलहरुमा कफी बेचेरै कलकत्तास्थित ८ जनाको परिवारको खर्च धानेका छन् । अविवाहित सुखेनका दाजुभाइले ११ कक्षासम्म पढेपछि परिवार धान्नका लागि हेटौँडा आएर चिया र कफी बेच्न थाल्नु भएको हो । “बुवाले १५ वर्ष यहीँ चिया र कफी बेच्नुभयो”, सुखेनले भन्नुभयो–“अहिले उहाँकै कामको निरन्तरता हामी दाजुभाइले दिएका हौँ ।” 
कलकत्तामा चिया र कफी बेच्दा नेपालमा जस्तो आम्दानी नहुने भएकाले नेपाल आएर व्यापार गर्नुपरेको सुखेनका दाजुभाइले बताएका छन् । सानो वा ठुलो भनेर कामको वर्गीकरण नगरी श्रम गर्ने संस्कार नहुँदा नेपाली युवाहरु स्वदेशमा बेरोजगार छन् भने भारतबाट आएका सुखेनजस्तै कपाल काट्ने, चुरा बेच्ने, भाँडा बेच्ने भारतीय नागरिकहरु स्वरोजगार मात्र छैनन् नेपालको रकम विदेशसम्म लगिरहेका छन् ।