फुटबल | खेलकुद |

‘उपाधि जित्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रिने’

प्रजित शाक्य
काठमाडौँ, चैत ९ गते । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित नेपाली टिम मैदानमा उत्रिने बताउनुभएको छ । कीर्गिस्तानको यु २३ र बङ्गलादेशको राष्ट्रिय टिम सम्मिलित प्रतियोगिता मङ्गलबार दशरथ रङ्गशालामा सुरु हुँदैछ ।

विश्वकप छनोटअन्तर्गत दशरथ रङ्गशालामा नेपालले अस्ट्रेलिया, चाइनिज ताइपेई र जोर्डनबीचको खेल खेल्न नपाउने भएपछि एन्फाले घरेलु दर्शकका लागि थ्री नेशन्स कपको आयोजना गर्न लागेको हो ।

श्रृखंलाको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय टिमका उपकप्तान रोहित चन्दले दशरथ रङगशालामा लामो समयपछि खेल्न लागेकाले पनि आफ्नो टिमका खेलाडीहरु उत्साहित र राम्रो गर्न प्रेरित बनेको छ, भन्नुभयो । नेपाली टिमका कप्तान किरण चेम्जोङ अहिले व्यवसायिक फुटबल खेल्न भारतमा रहेकाले प्रशिक्षक महर्जनसहित रोहित प्रतियोगिताको पूर्वसन्ध्यामा गरिएको पत्रकार सम्मेलनमा उपस्थित हुनुभएको हो । कप्तान तथा गोलरक्षक किरण सोमबार राति नेपाल आइपुग्ने जानकारी प्रशिक्षक महर्जनले दिनुभएको छ ।

प्रशिक्षक महर्जनले विश्वकप छनोटका लागि आप्mनो टिम गत तीन महिनादेखि निरन्तर अभ्यासमा रहेको हुँदा यस प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । हामी शतप्रतिशत दिएर खेल्नेछौँ, राम्रो खेलेपछि उपाधि जितको नतिजा पनि आफ्नो पक्षमा आउनेछ– महर्जनको भनाई छ ।

प्रतियोगिताअन्तर्गत पहिलो खेलमा मङ्गलबार दुई पाहुना टोली बङ्गलादेश र कीर्गिस्ताबीच भिडन्त हुनेछ । नेपालले आफ्नोपहिलो खेल बिहीबार किर्गिस्तानविरुद्ध खेल्नेछ । नेपालले आफ्नो दोस्रो खेलमा चैत १४ गते बङ्गलादेशको सामना गर्नेछ । लिग चरणमा तीन खेलपछि शीर्ष दुई स्थानमा रहने टिमबीच चैत १६ गते उपाधि भिडन्त हुनेछ । यी सबै खेल साँझ ५.३० मा सुरु हुनेछन् ।

कीर्गिस्तान ओलम्पिक टोलीसहित नेपाल आएको छ। कीर्गिस्तानका प्रशिक्षक झोल्डोसोब नुर्वेकले यु २३ टिम भए पनि यो राष्ट्रिय टोली सरह नै हो, भन्नुभयो । कीर्गिस्तानको टोलीमा राष्ट्रिय टिमका दुई सिनियर खेलाडी पनि छन् । प्रशिक्षक नुर्वेकले प्रतियोगिताका लागि राम्रो तयारी गर्न नसके पनि नेपालमा राम्रो फुटबल खेल्ने बताउनुभयो । यो युवा खेलाडीका लागि अवसर पनि हो, विशेषरुपमा आयोजक नेपालसँग खेल्न कठिन हुनेछ तर हामी शतप्रतिशित दिएर राम्रो नतिजा ल्याउन प्रयास गर्नेछौँ– प्रशिक्षक नुर्वेकको भनाइ छ ।

बङ्गलादेशका प्रशिक्षक जेमी डेले नेपालमा दुवै टिमविरुद्ध खेल्न कठिन हुने धारणा राख्नुभयो । यसपटक हामी छजना नयाँ खेलाडीका साथ नेपाल आएका छौँ । विश्वकप छनोट खेलअघि यस प्रतियोगितामा मैले टिममा केही प्रयोग गर्ने हेतुले नयाँ खेलाडीलाई टिममा राखेको छु– प्रशिक्षक डेले भन्नुभयो । नेपालविरुद्ध खेल्दा उसलाई घरेलु मैदानको फाइदा र घरेलु समर्थकको उर्जा प्राप्त हुनेछ, त्यसैले घरेलु टिमविरुद्ध खेल्नु पक्कै पनि सहज हुँदैन । कीर्गिस्तानको यु २३ टिम भएपनि उनीहरु शारीरिक र टेक्निकली राम्रा छन्, त्यसैले यो प्रतियोगितामा हाम्रो लागि राम्रो अवसर पनि हो– बङ्गलादेशी प्रशिक्षक डेले थप्नुभयो ।

पाँच महिनाअघि नेपालले बङ्गलादेशमा दुई अन्तर्राष्ट्रिय मैत्री खेल खेलेको थियो । जसमध्ये पहिलो खेलमा नेपाल २–० ले पराजित भएको थियो भने दोस्रो खेल बराबरीमा टुङ्गिएको थियो । नेपालका प्रशिक्षक महर्जनले अहिले नेपाली टोली धेरै फरक भइसकेको बताउनुभयो। सो समय कोरोनाका कारण नेपालको तयारी पनि कमजोर थियो भने टिम युवा थियो । बङ्गलादेशविरुद्ध मैत्री खेल्न बोलाइएका खेलाडीमध्ये पहिलो रोजाईका सात खेलाडी कोरोना संक्रमित देखिएपछि पनि नेपाली टिममा संकट थपिएको थियो । यीमध्ये सबै खेलाडी पहिलो रोजाईका खेलाडी हुन् ।