बार्सिलोनाले ला लिगाको शीर्षस्थानमा उक्लिने अबसर गुमायो
गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २९ गते । स्पेनिस क्लब बार्सिलोना ला लिगाको शीर्षस्थानमा उक्लिने अवसर गुमाएको छ । खेलमा २–० को स्थितिमा रहेको बार्सिलोनाले अग्रतालाई जोगाउन नसक्दा लेभान्टेसँग ३–३ को बराबरीमा रोकियो । अङ्क बाँड्न पुग्दा बार्सिलोनाले शीर्ष स्थानको एटलेटिको मड्रिडभन्दा एक अङ्कले पछाडि रहन गयो । बार्सिलोनाले ३६ खेलबाट ७६ अङ्क जोडेको छ । बार्सिलोनाभन्दा एक खेल कम खेलेको एटलेटिको मड्रिडको ७७ अङ्क छ ।
खेलमा पहिलो हाफको २५ औं मिनेटमा बार्सिलोनाले लियोनल मेस्सीको गोलबाट १–० को अग्रता लियो । ओसमाने डिम्बालाको क्रसलाई पेड्री गोञ्जालेजले ३४ औं मिनेटमा गोल गर्दै उक्त बार्सिलोनाको अग्रतालाई दोब्बर बनाउनुभयो । तर लेभाान्टेका लागि गोञ्जालो मेलेरोले ५७ औं मिनेटमा गोल गर्दै खेल १–२ को स्थितिमा ल्याउनुभयो । दुई मिनेट नबित्दै लुईस जोस मोरालेसले गोल थप्दा लेभान्टेले खेल २–२ को बराबरीमा ल्यायो ।
६४ औं मिनेटमा डिम्बालाको शक्तिशाली प्रहार गोलमा परिणत भएपछि बार्सिलोनाले पुनः अग्रता लिन सफल भयो । तर सर्जिओ लियोनले ८३ औं मिनेटमा गर्नुभएको गोलले लेभान्टे बराबरी गोल गर्दै बार्सिलोनालाई अङ्क बाँड्न बाध्य तुल्यायो ।