फुटबल | खेलकुद |

‘पोचेटिन्हो पुनः टट्नहम फित्र्ता हुने’

गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १३ गते । टटनहम आफ्नो पूर्ब प्रशिक्षक मौरिसो पोचेटिन्होलाई पुनः प्रमुख प्रशिक्षक नियुक्त गर्न सम्पर्क गरेको छ । पाँच वर्षे कार्यकालपछि ४९ वर्षीय आर्जेन्टाइनलाई टट्नहमले सन् २०१९ को नोभेम्बरमा बर्खास्त गरेको थियो । अर्को वर्ष जनवरीमा उहाँलाई पेरिस सैन्ट जर्माइनले प्रशिक्षकको जिम्मेवारीमा नियुक्त गरेको थियो ।
टट्नहम र पोचेटिन्होबीच सम्झौता भए पोचेटिन्होले गत् महिना बर्खास्त भएका जोस मौरिन्होलाई बिस्थापित गर्नुहुनेछ । मौरिन्हो बर्खास्त भएपछि एकेड्मी प्रशिक्षक र्यान मेसोनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिइएको थियो । तर कारबाओ कपको फाइनलमा म्यान्चेष्टर सिटीसँग पराजित भएको टटनहमले प्रिमियर लिगमा समेत सातौं स्थानमा मात्र चित्त बुझाउनुपर्यो ।
पोचेटिन्होको प्रशिक्षणमा पीएसजीले गत् मार्च महिनामा फ्रेञ्च कपको उपाधि जितेको थियो । तर मई महिनामा लिलीसँग लिग वानको उपाधि हारेको थियो । पीएसजीसँगको पोचेटिन्होको सम्झौतामा एक वर्ष अझै बाँकी नै छ ।