‘पीएफए’ वर्ष पुरस्कारमा म्यान्चेष्टर सिटीका खेलाडीको वर्चश्व
गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १९ गते । म्यान्चेष्टर सिटीका खेलाडीले ब्यवसायिक फुटबलर्स एशोसिएशनको पुरुष वर्ष खेलाडीमा वर्चश्व बनाएको छ । सिटीका मीडफिल्डर फिल फोडेन पुरुष वर्ष खेलाडी र युवा वर्ष खेलाडीको मनोनयनमा पर्नुभएको छ ।
प्रिमियर लिगको च्याम्पियन समेत रहेको सिटीले वरिष्ठ खेलाडीको पुरस्कारमा समेत वर्चश्व जनाएको छ । सिटीका इल्के गुण्डोगन, केभिन डे ब्रुन र रुबेन डायस वरिष्ठ खेलाडीको मनोनयनमा परेका छन् । म्यान्चेष्टर यूनाइटेडका ब्रुनो फर्नान्डेस र टटनहमका स्ट्राइकर हयारी केन संक्षिप्त सूचीमा परेका छन् ।
पुरस्कारको विजेता आइतबार घोषण गरिनेछ ।
२१ वर्षीय फोडेनले म्यान्चेष्टर सिटीका लागि ५० खेल खेल्नुभएको छ । उहाँले सिटीलाई प्रिमियर लिग र कारबाओ कप जिताउनुका साथै च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याउन महत्वपूर्ण योगदान दिनुभयो ।
स्कटल्याण्डमा जन्मिनुभएका फोडेनले इंग्ल्याण्डको राष्ट्रिय टोलिमा गत् सेप्टेम्बर महिनामा पर्दापण गर्नुभयो । यूरो २०२० को इंग्ल्याण्ड टोलिमा समेत उहाँले स्थान सुनिश्चित गर्नुभएको छ ।
युवा वर्ष खेलाडीका लागि योग्य हुन खेलाडीको उमेर २३ वर्ष मुनि हुनुपर्छ । तर युवा वर्ष खेलाडीको मनोनयनमा पर्ने खेलाडी वरिष्ठ खेलाडीको मनोनयनमा समेत योग्य हुनेछ । ब्यवसायिक फुटबर्लस एशोसिएशनको वर्ष खेलाडी र युवा वर्ष खेलाडी एकै संस्करणमा तीन खेलाडीले मात्रै जितेका छन् । सन् १९७३÷७४ मा पहिलो पटक उक्त पुरस्कार सुरु भए यता १९७६÷७७ मा एन्डी ग्रे, सन् २००६÷०७ मा क्रिष्टियानो रोनाल्डो र सन् २०१२÷१३ मा गारेथ बेलले दुबै पुरस्कार जित्न सफल भएका छन् ।
युवा वर्ष खेलाडीको मनोनयनमा आर्सनलका बुकायो साका, वेष्टहमका डेक्लन राइस, म्यान्चेष्टर यूनाइटेडका मेसन ग्रीनऊड, चेलसीका मेसन माउन्ट र लिभरपुलका ट्रेन्ट अलेक्जेण्डर परेका छन् ।