अर्जेन्टिनालाई चिलीले बराबरीमा रोक्यो
गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २१ गते । विश्वकप फुटबल २०२२ को दक्षिण अमेरिकी राष्ट्रको छनोट खेलमा अर्जेन्टिनालाई चिलीले बराबरीमा रोकेको छ । अर्जेन्टाइन फरवार्ड लियोनल मेस्सीले सुरुवाती गोल गर्दै अग्रता दिलाए पनि चिलीले बराबरी गोल फर्काउँदै खेल १–१ मा टुंग्यायो ।
फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको निधन भए यता अर्जेन्टिलाले पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको हो । गत् नोभेम्बर महिनामा ६० वर्षीय डिएगो म्याराडोनाको हृदयघातपछि मृत्यु भएको थियो ।
२४ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमार्फत् अर्जेन्टिनालाई अग्रता दिलाउनुभयो । गुर्लेमो मेरिपानले लौटेरो मार्टिनेजलाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अबसर पाएको थियो । चिलीका एलेक्सिस साञ्चेजले ३६ औं मिनेटमा गोल फर्काउँदै चिलीलाई १–१ को बराबरीमा ल्याउनुभयो ।
बराबरी खेलेर अङ्क बाँडेसँगै अर्जेन्टिना समूहमा दोस्रो स्थानमा बस्न बाध्य भयो । ब्राजिलले चार छनोट खेलबाट १२ अङ्क जोडेको छ । अर्जेन्टिनाले पाँच खेलबाट ११ अङ्क बटुलेको छ । ब्राजिलले छनोट अन्तगर्तको आफ्नो पाँचौं खेलमा शुक्रबार इक्वेडरको सामना गर्दैछ ।