फुटबल | खेलकुद |

विश्वकप छनोटमा नेपालले जोर्डनको सामना गर्दै

गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २४ गते । विश्वकप फुटबल २०२२ को छनोट अन्तगर्तको आफ्नो सातौं खेलमा नेपालले केही बेरमा जोर्डनको सामना गर्दैछ । नेपाल र जोर्डन बीचको खेल कुवेतको जबार अल अहमद रङशालामा राति पौने दश बजेटबाट सुरु हुनेछ ।
नेपालले घरेलु मैदानमा खेल्नुपर्ने दोस्रो चरणको खेलहरु कोरोना महामारीले कुवेतमा सारिएको छ । छनोट अन्तगर्तको पहिलो चरणमा जोर्डन बिरुद्ध नेपालले उसको घरेलु मैदानमा ०–३ को हार बेहोरेको थियो । नेपालले उक्त हारको बदला पुरा गर्न समेत जोर्डन बिरुद्धको दोस्रो खेलमा जित्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ । जोर्डन फिफाको विश्व वरीयतामा ९५ औं स्थानमा छ । नेपाल भने १७१ औं स्थानमा छ ।
यद्दपी नेपालले गरेको जितको अपेक्षामा उसको पछिल्लो प्रदर्शनले समेत साथ दिएको छ । नेपालले दोस्रो चरणमै गत् शनिबार प्रतिद्वन्दी चाईनिज ताईपेइमाथि २–० को जित हात पारेको थियो । चाईनिज ताईपेइ पनि विश्व वरीयतामा नेपालभन्दा बलियो स्थितिमा रहेको छ । ऊ १४२ औं स्थानमा छ । यद्दपी नेपालले हरायो ।
नयाँ प्रशिक्षक नियुक्त भएपछि नेपाली फुटबल टोलिमा केही बदलाब समेत गरिएको छ । युवा खेलाडी प्राथमिकतामा परेका छन् । पछिल्ला खेलहरु झैं आक्रामक प्रदर्शन गर्दै बिपक्षी टोलिमाथि सुरुदेखि नै दबाब बनाउने रणनीति नेपालले अपनाएको छ ।
त्यसअघि इराक बिरुद्धको मैत्रीपूर्ण खेलमा समेत नेपालले आक्रामक प्रदर्शन गरेको थियो । खेलमा अग्रता लिएपनि नेपालले उक्त अग्रता जोगाउन सकेन । उक्त खेलमा नेपाल २–६ ले हार बेहोर्न पुग्यो ।
इराक विश्व वरीयताको ६८ औं स्थानमा छ । उत्कृष्ट सुरुवात गरेपनि नेपाली रक्षात्मक पद्धती धैर्यता गुमाएपछि पहिलो हाफको उत्तराद्र्धतिर नेपालले दश मिनेटभित्र तीन गोल खानुपर्यो । नेपालले इराक बिरुद्धको उक्त खेलबाट अनुभब र महत्वपूर्ण सिकाइ लिएको प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले बताउनुभएको थियो ।
जोर्डन, नेपाल, कुवेत, अष्ट्रेलिया र चाईनिज ताईपेइ समूह बी मा छन् । जोर्डन हाल समूहको तेस्रो स्थानमा छ । कुवेत दोस्रो र अष्ट्रेलिया शीर्ष स्थानमा छन् । अष्ट्रेलियाले पाँचमध्ये पाँचै खेल जितेर १५ अङ्क जोडेको छ । दोस्रो स्थानको कुवेतले भने छ खेलबाट १० अङ्क बटुलेको छ ।
कुवेतभन्दा एक खेल कम खेलेको जोर्डनको पनि १० अङ्क नै छ । गोल अन्तरको आधारमा कुवेत जोर्डनभन्दा माथि उक्लेको छ । तर जोर्डनले भने नेपाल बिरुद्ध अङ्क नगुमाई कुवेतलाई बिस्थापित गरी दोस्रो स्थानमा उक्लिने लक्ष्यसहित मैदानमा उत्रिनेछ । जोर्डनले तीनमा जित, एकमा हार र एक बराबरी खेलेको छ ।
नेपालले छ खेलमध्ये दुईमा जित हात पार्दै छ अङ्कसहित चौथो स्थानमा छ । नेपालको विश्वकप फुटबल २०२२ का लागि छनोटको सम्भाबना सकिसकेको छ । यद्दपी एशियाली फुटबल कप २०२३ को तेस्रो चरणको छनोटका लागि जोर्डन बिरुद्धको खेल नेपालका लागि महत्वपूर्ण हुनेछ । प्रशिक्षक अलमुतैरीले पनि एशियाली फुटबल कप २०२३ को छनोटका लागि नेपालले जोर्डन बिरुद्धको खेलमा जित्ने लक्ष्यसहित नै मैदानमा उत्रिने प्रतिक्रिया दिनुभएको छ ।
नेपाल र जोर्डनबीच पछिल्लो तीन खेलमा जोर्डनले दुईमा जित हात पारेको छ भने एक खेलमा नेपालले बराबरीमा रोक्न सफल भएको छ । नेपालले सन् २०११ को फिफा विश्वकप छनोटमै जोर्डन बिरुद्ध उसको घरेलु मैदानमा ०–९ को फराकिलो अन्तरले हार बेहोरेको थियो । यद्दपी नेपालले छनोट अन्तगर्तको घरेलु मैदानमा सम्पन्न खेलमा जोर्डनलाई १–१ को बराबरीमा रोकेको थियो ।
खेलको पूर्ब सन्ध्यामा जोर्डनका प्रशिक्षक भिटाल बोर्केलमान्सले समेत नेपालको खेल स्तरमा परिवर्तन आएको टिप्पणी गर्नुभएको छ । नेपालको इराक र चाईनिज ताईपेइ बिरुद्धको खेल हेर्नुभएका जोर्डनका प्रशिक्षक बोर्केलमान्सले नेपालको प्रदर्शनको स्तर बदलिएको बताउनुभएको छ ।