फुटबल | खेलकुद |

कोपा अमेरिकामा चिलीले अर्जेन्टिनालाई रोक्यो

गोरखापत्र अनलाइन
काठमाडौं, असार १ गते । कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिनाले चिली बिरुद्ध बराबरीमा रोकिएको छ । समूह ए को पहिलो खेलमा अर्जेन्टिनाले चिली बिरुद्ध १–१ को बराबरी खेल्दै अङ्क बाँडेको हो ।
खेल सुरु हुनै लाग्दा फुटबलका महान हस्ती एवम् अर्जेन्टिनाका पूर्ब खेलाडी म्याराडोनाको सम्मानमा श्रद्धाञ्जली दिइएको थियो । पहिलो हाफको ३३ औं मिनेटमा लियोनल मेस्सीले फ्रि किकलाई उत्कृष्ट फिनिश दिदै गोलमा परिणत गर्दा अर्जेन्टिनाले १–० को अग्रता लियो । बार्सिलोनाका फरवार्ड मेस्सीले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो ७३ औं गोल पुरा गर्नुभयो ।
पहिलो हाफमा उक्त अग्रतालाई कायम राखेको अर्जेन्टिनाले दोस्रो हाफमा ५७ औं मिनेटमा गोल खान पुग्यो । चिलीले इडुआर्डो भर्गासको गोलबाट खेल १–१ को स्थितिमा ल्याउनुभयो ।
कोपा अमेरिकाको ४७ औं संस्करण कोरोना महामारीले एक वर्ष ढिला हुन पुगेको छ । सुरुमा कोपा अमेरिका अर्जेन्टिना र कोलम्बियामा हुने निर्धारण भएपनि दुबै राष्ट्रले आयोजना अस्वीकार गरेपछि ब्राजिल सरेको हो ।