फुटबल | खेलकुद |

युरोकप फुटबलमा रुसको पहिलो जित

गोरखापत्र अनलाइन
काठमाडौं, असार ३ गते । युरोकप फुटबल २०२० मा रुसले पहिलो जित हात पारेको छ । सेन्टपिट्र्सवर्गमा गए राति अबेर सम्पन्न खेलमा रुसले फिनल्याण्डलाई हराएको हो । फिनल्याण्डले युरोकप फुटबलको आफ्नो पहिलो खेलमा गत शनिबार डेनमार्कमाथि जित हात पारेको थियो ।
पहिलो हाफको अतिरिक्त समयमा रुसले गरेको एक मात्र गोल खेलको निर्णायक गोल रहन गयो । फिनिश डिफेन्डरहरुबाट घेरिएका अलेक्सी मिरानचुकले पहिलो हाफमा ‘इन्ज्युरी टाइम’को दोस्रो मिनेटमा गोल गर्दै रुसलाई १–० को अग्रता दिलाउनुभयो । फिनल्याण्डले रुसमाथि जित हात पारेको भए अन्तिम १६ मा स्थान सुनिश्चित गर्ने थियो । फिनल्याण्डले जोएल पोजनपालोको हेडरबाट अग्रता लिएको सोचिरहँदा म्याच रेफ्रीले अफसाइड दिन पुगे ।
सोमबार दुबै टोलीले लिग चरणको अन्तिम खेल खेल्नेछ । दुबै टोलीको समान तीन अङ्क छ ।