फुटबल | खेलकुद |

यूरो कपको सेमीफाइलन र फाइनलमा वेम्ब्लीमा ६० हजार दर्शकलाई प्रबेशको अनुमति दिइने

गोरखापत्र अनलाइन
काठमाडौं, असार ८ गते । बेलायत सरकारले यूरो कप फुटबल २०२० को सेमीफाइनल र फाइनल खेलको आयोजना गर्ने वेम्ब्ली रङशालामा ६० हजार दर्शकको प्रबेश दिने जनाएको छ । सरकारी घोषणा अनुसार रङशालाको दर्शक क्षमताको ७५ प्रतिशत ढाकिनेछ । गएको १५ महिनामा पहिलो पटक बेलायतमा कुनै खेलका लागि यति धेरै संख्यामा दर्शकको उपस्थिति रहनेछ ।
यूरोपेली फुटबल संघ(यूईएफए)का अध्यक्ष अलेक्जेण्डर सेफेरिनले दुई सेमीफाइनल र एक फाइनल खेलका लागि यति धेरै संख्यामा दर्शकको उपस्थिति रहनु सुखद समाचार रहेको बताउनुभयो । बेलायतले १९ जुलाईसम्मका लागि सबै प्रतिबन्ध खुला गर्न रोक लगाएको छ ।
यूरो २०२० को समूह चरणको खेलका लागि वेम्ब्ली रङशालामा दर्शकको संख्या २२ हजार ५०० मा घटाइएको छ । जुन वेम्ब्लीको दर्शक क्षमताको एक चौथाई मात्रै हो । नकआउट चरणको दुई खेलमा प्रयोग स्वरुप ४५ हजार दर्शकलाई प्रबेशको अनुमति दिइने तयारी गरिएको छ ।
आगामी ६ र ७ जुलाईमा यूरो कप फुटबलको सेमीफाइनल हुनेछ । ११ जुलाईमा यूरो कप फुटबलको उपाधिका लागि स्पर्धा हुनेछ ।