फुटबल | खेलकुद |

पेनाल्टी शूटआउटमा स्वीटजरल्याण्डलाई हराएर स्पेन सेमीफाइनलमा पुग्यो

गोरखापत्र अनलाइन
काठमाडौं, असार २० गते । तीन पटकको च्याम्पियन स्पेन यूरो कप फुटबल २०२० को सेमीफाइनलमा पुगेको छ । स्वीटजरल्याण्डलाई पेनाल्टी शूट आउटमा हराउँदै स्पेनले सेमीफाइनलमा इटालीसँगको भेट सुनिश्चित गरेको हो ।
पेनाल्टी शूट आउटमा स्वीस खेलाडी रुबेन भर्गेसले गरेको प्रहार उछिट्टिएपछि स्पेनले अग्रता लियो । मिकेल ओजबालले स्पेनका लागि पेनाल्टी शूट आउट निर्णायक गोल गर्नुभयो ।
विश्व वरीयतामा छैठौं स्थानमा रहेको स्पेनले अन्तिम १६ मा समेत क्रोएशिया बिरुद्ध पेनाल्टी शूटआउटमा नै जित सुनिश्चित गरेर क्वार्टरफाइनलको यात्रा तय गरेको थियो । निर्धारित समयको खेल सकिन पाँच मिनेट बाँकी रहँदा ३–१ ले अगाडि रहेको स्पेन अन्तिम समयमा नियन्त्रण गुमाउँदा अन्तिम १६ को खेल पेनाल्टी शूट आउटमा गएको थियो ।
खेलको सुरुवातमै मीडफिल्डर डेनिस जकारियाले सेन्ट पिटर्सवर्गमा जोर्डी अल्बाको प्रहारलाई बङ्ग्याउन पुग्दा आफ्नै पोष्टमा गोल गर्न पुगे । र स्पेनले खेलमा १–० को अग्रता कायम गर्यो । आठौं मिनेटमा स्पेनले पाएको अग्रतालाई स्वीस कप्तान जर्दन शकिरीले पुनरागमन गोल गर्दै खेल १–१ को बराबरीमा ल्याउनुभयो । ७७ औं मिनेटमा बराबरी गोलपछि दुबै टोलिले अतिरिक्त समयसम्म बराबरी खेलेपछि खेल पेनाल्टी शूट आउटमा गएको थियो ।
स्पेनले सेमीफाइनलमा अब इटालीको सामना गर्नेछ । वेम्ब्लीमा मंगलबार स्पेन र इटालीले यूरो कप फुटबल २०२० को फाइनलमा स्थान सुनिश्चित गर्न स्पर्धा गर्नेछन् ।