फुटबल | खेलकुद |

समाधान खोज्न कप्तान किरण चेम्जोङ्गको जोड

गोरखापत्र अनलाइन
काठमाडौं, साउन ११ गते । राष्ट्रिय फुटबल टोलिका कप्तान किरण चेम्जोङ्गले एन्फाभित्रको विवादको समाधान खोज्न जोड दिनुभएको छ । राष्ट्रिय फुटबल टोलिका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ्गको कारणले आफू राजिनामा दिन लागेको बताएपछि अखिल नेपाल फुटबल संघ(एन्फा)भित्र विवाद चुलिएको छ ।
कप्तान चेम्जोङ्गले सोमबार राति सामाजिक सञ्जालमा “समस्या खोज्नुभन्दा समाधान तिर अग्रसर हुन” सुझाब दिनुभएको छ । “राष्ट्रिय फुटबल टोलि एक परिवार हो र परिवारको एक सदस्य भएको हैसियतमा हामीले थुप्रै उतारचढाब सुनेका छौं ।” भन्दै कप्तान किरण चेम्जोङ्गले “को सही को गलत जानकारी नभएपनि राष्ट्रिय टोलिको जुन कुनै सदस्यलाई गुमाउन नचाहेको ” बताउनुभएको छ ।
उहाँले आगामी खेल र प्रतियोगिताका लागि समेत एकढिक्का भएर अगाडि बढ्नुपर्ने भएकोले समाधान खोज्न आग्रह गर्नुभएको छ ।