‘विवाद समाधानको जिम्मा मन्त्रालयलाई दिनु विधान विपरित’
गोरखापत्र अनलाइन
काठमाडौं, साउन १८ गते । राजिनामा दिनुभएका एन्फाका प्रवक्ता किरण राईले प्रशिक्षक र पदाधिकारीबीचको विवाद छानबीन गर्ने जिम्मा मन्त्रालयलाई दिनु गलत भएको टिप्पणी गर्नुभएको छ । उहाँले एन्फाभित्र अनुशासन लगायत अन्य समिति हुँदाहुँदै विवाद समाधानको जिम्मा मन्त्रालयलाई दिनु गलत भएको बताउनुभएको छ ।
एन्फाको गत् शनिबार बसेको बैठकले प्रशिक्षक र पदाधिकारीबीचको विवाद सम्बन्धमा छानबीन गर्ने जिम्मा मन्त्रालयलाई दिने निर्णय गरेको थियो । उक्त निर्णय एन्फाको विधान विपरित समेत भएको राईले दाबी गर्नुभयो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित पत्रकार सम्मेलनमा राईले राष्ट्रिय फुटबल टोलिका प्रशिक्षक र पदाधिकारीबीचको विवादले नेपाली फुटबलमा ठूलो चोट पुगेको बताउनुभयो । एन्फाका केन्द्रिय सदस्य समेत रहनुभएका किरण राईले प्रशंसक र पदाधिकारीबीचको अस्वस्थ्य होडले नेपाली फुटबलको हित नहुने दाबी गर्नुभयो । फुटबल टोलिका प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङ्गको कारण आफू राजिनामा गर्न लागेको बताएपछि फुटबल प्रशंसकले सामाजिक सञ्जालमा एन्फा पदाधिकारीलाई लक्षित गरी गालीगलौज गर्दै आएका छन् ।
राईले एशियाली फुटबल संघ र फिफाले समेत सामान्य विवाद आफैंले टुंग्याउँदै आएकोले एन्फा बैठकको उक्त निर्णय अपरिपक्व रहेको र यसले गलत नजिर बनाउने बताउनुभयो ।