अर्पण र मार्टन च्यासल युथ क्लबसँग आवद्ध
गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २२ गते । शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि च्यासल युथ क्लबले सोमबार एक स्वदेशी र एक विदेशी खेलाडी अनुबन्ध गरेको छ ।
तेस्रो पटक ए डिभिजन लिग खेल्न लागेको च्यासलले कात्तिक २९ गतेदेखि हुने ए डिभिजन लिगका लागि नेपालको राष्ट्रिय यु २३ टोलीका कप्तान तथा गोलरक्षक अर्पण कार्की र साफ कोटामा भारतीय खेलाडी शेम मार्टनसँग सम्झौता गरेको छ ।
च्यासल युथ क्लबका अध्यक्ष रमेश व्यञ्जनकारले राष्ट्रिय यु२३ का कप्तानलाई टिममा ल्याउन पाउँदा निकै खुशी भएको बताउनुभयो । नेपालले सन् २०१७ मा नेपालले भुटानमा भएको साफ यु१९ को उपाधि जित्दा अर्पण कप्तान हुनुहुन्थयो । उहाँ सन् २०१९ मा नेपालले दक्षिण एसियाली खेलकूदमा फुटबलको स्वर्ण जित्दा पनि टिममा हुनुहुन्थ्यो । अर्पणमा माल्दिभ्सको जेजे स्पोर्ट्स क्लब र भुटानको पारो एफसीबाट पनि खेलिसक्नुभएको छ । उहाँसँग नेपाल पुलिस क्लबबाट पनि घरेलु लिग खेलेका अनुभव छ । यसैगरी, भारतका मार्टन चेन्नई सिटी फुटबलबाट च्यासल युथ क्लबमा आउनुभएको हो । २६ वर्षीय मार्टनसँग एएफसी कप खेलेको अनुभव छ ।