महिला गोलक्षक पुरुष भएको शङ्का
काठमाडौं, मङ्सिर २ गते । इरानको राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक जोहरेह कोउडेइ पुरुष खेलाडी भएको जोर्डनले आरोप लगाएको छ । जोर्डनले महिला खेलाडीको प्रतियोगितामा इरानले पुरुष गोलरक्षक खेलाएको भन्दै लैंगिक जाँच गर्न मागस गरेको छ । जोर्डनले एसियाली फुटबल महासङ्घ (एएफसी) समक्ष गोलरक्षक कोउडेइ पुरुष भएको शङ्का गर्दै लैंगिक जाँचको माग गरेको हो ।
सन् २०२२ को महिला एसियन कप छनोट अन्तर्गत उज्वेकिस्तानमा गत सेप्टेम्बर २५ तारिखमा खेलिएको खेलमा इरानले जोर्डनलाई पेनाल्टी सुट आउटमा ४–२ गोलले हराएको थियो । उक्त खेलमा इरानकी गोलरक्षक कोउडेइले उच्च प्रदर्शन गर्दै जोर्डनको दुई वटा पेनाल्टी प्रहार बचाउन भएको थियो । सोही नतिजाले इरानलाई एसिया कपमा छनोट गराएको थियो । उक्त घटनापछि जोर्डन फुटबल सङ्घले इरानी गोलरक्षक कोउडेइ पुरुष भएको ठहर गर्दै एएफसीमा लैंगिक जाँच गर्न माग गरेको समाचार इन्डियन एक्प्रेसले पनि उल्लेख गरेको छ ।
जोर्डन फुटबल सङ्घका अध्यक्ष प्रिन्स अली बिन हुसेनले इरानले महिलाको प्रतियोगितामा पुरुष खेलाडी खेलाउनु अन्यायपूर्ण भएको बताउनुभएको छ । उहाँले एएफसीले यसको उचित छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग पनि गर्नुभएको छ । महिला खेलाडीमाथि लैंगिक विषय उठेपछि इरानले भने आफ्ना खेलाडीको ‘हर्मोन’ बारे स्वास्थ्य परीक्षण गरिरहेको छ । एजेन्सी