शीर्षटोली बायर्नलाई अग्सबर्गको झट्का
काठमाडौँ, मङ्सिर ४ गते । जर्मन महारथि बायर्न म्युनिखलाई जर्मन बुन्डेसलिगा फुटबलमा अग्सबर्गको नमिठो झट्का लागेको छ । शुक्रबार राति भएको खेलमा बायर्न अग्सबर्गसँग २–१ गोलले पराजित भयो ।
सबै गोल पहिलो हाफमा सम्भव भएको खेलमा अग्सबर्गका लागि म्याड्स भ्यालेन्टिन पेडेरसन र आन्द्रे हानले गोल गर्नुभयो । बायर्नका रोबर्ट लेवान्डोस्कीले गोल गरेपनि टोलीलाई हारबाट जोगाउन सक्नुभएन ।
२३औँ मिनेटमा पेडेरसनले गोल गर्दै अग्सबर्गलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । त्यसपछि ३६औँ मिनेटमा हानले गोल गर्दै अग्सबर्गको अग्रता दोब्बर बनाउनुभयो । ३८औँ मिनेटमा लेवान्डोस्कीले गोलगर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गर्नुभयो ।दोस्रो हाफमा दुवै टोलीबाट थप गोल नभएपछि अग्सबर्ग विजयी भयो । हारेपनि बायर्न तालिकाको शीर्षस्थानमा यथावत छ । सिजनको दोस्रो हार खेपेको बार्यनले १२ खेलबाट २८ अंक बनाएको छ । समान खेलबाट १२ अंक बनाएको अग्सबर्ग १५औं स्थानमा उक्लिएको छ । एजेन्सी