फुटबल | खेलकुद |

बार्सिलोनामा जाभीको सुखद सुरुवात

काठमाडौं, मङ्सिर ५ गते प्रशिक्षकको रुपमा जाभी हर्नान्डेजले बार्सिलोनामा सुखद सुरुवात गर्नुभएको छ । स्पेनिस ला लिगा अन्तर्गत घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले छिमेकी क्लब स्पान्योललाई १–० गोलले हरायो ।

बार्सिलोनाको जितमा मेम्फिस डिपाए नायक बन्नुभयो । डिपाएले ४८औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्नुभएको थियो । डिबक्सभित्र डिपाएलार्ई स्पान्योलका लियान्द्रो काब्रेराले लडाएपछि बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो ।

जारी सिजन खराब नतिजाबाट गुज्रिएको बार्सिलोनाले जाभीको पहिलो प्रशिक्षणसँगै जित निकालेको हो । टोलीको नजितामा सुधार गर्न नसकेको भन्दै बार्सिलोनाले तीन साताअघि प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको थियो । पूर्व स्टार जाभीले दुई साताअघि बार्सिलोनाको मुख्य प्रशिक्षको जिम्मेवारी पाउनुभएको थियो ।

बार्सिलोनाले स्पान्योललाई खेलभर दबाबमा राखेपनि जितका लागि एउटै पेनाल्टी सहारा बन्यो । ६५ प्रतिशत बल पोसेसन राखेको बार्सिलोनाले १६ वटा पोस्ट प्रहार गरेको थियो । यता १२ वटा पोस्ट प्रहार गरेको स्पान्योलको गोल फर्काउने प्रयास सफल भएन । जितसँगै बार्सिलोना छैटौं स्थानमा उक्लिएको छ । बार्सिलोनाको १३ खेलबाट २० अंक पुगेको छ । पराजित स्पान्योल १७ अंक सहित ११औं स्थानमा छ ।

शीर्षस्थानमा रहेको सेभियाको २८ अंक छ । घरेलु मैदानमा शनिबार राति नै भएको खेलमा सेभिया डिर्पोटिभो अलाभेससँग २–२ गोलको बराबरीमा रोकियो । अलाभेससँग अंक बाँडेको सेभिया गोलअन्तरका आधारमा शीर्षस्थानमा रहेको हो । १४ अंक बनाएको अलाभेस १४औं नै स्थानमा छ ।

दोस्रो स्थानमा रहेको रियल सोसिडाडको पनि २८ अंक छ । एक खेल कम खेलेको रियल रियल म्याड्रिड २७ अंक सहित तेस्रो स्थानमा छ । अर्को खेलमा साविक विजेता एट्लेटिको म्याड्रिडले ओसासुनालाई १–० गोलले पराजित गरेको छ । एजेन्सी