ग्रानाडालाई हराउँदै रियल म्याड्रिड शीर्षस्थानमा
काठमाडौं, मङ्सिर ६ गते । स्पेनिस पावर हाउस रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा ग्रानाडालार्ई उसैको मैदानमा ४–१ गोलले हराउँदै रियलले शीर्षस्थान कब्जा गरेको हो ।
१० खेलाडीमा समेटिएको ग्रानाडामाथि फराकिलो जित निकाल्न रियलका मार्काे असेन्सियो, नाचो फर्नान्डेज, भिनिसियस जुनियर र फर्लान्ड मेन्डीले गोल गर्नुभयो । ग्रानाडाका लुइस स्वारेजले सान्त्वना गोल फर्काउनुभयो ।
एकपक्षीय खेलमा रियलले १९औँ मिनेटमा खाता खोलेको थियो । मार्काे असेन्सियोले टोनी क्रुसको पासमा गोल गर्दै पाहुना टोली रियलको उत्साह जगाउनुभयो । २५औँ मिनेटमा नाँचोले टोनी क्रुसकै पासमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाउनुभयो ।
त्यसपछि ३४औँ मिनेटान लुइस स्वारेजले याक्सिमे गोनालोन्सको पासमा गोल गर्दै ग्रानाडालाई खेलमा फर्काउने प्रयास गर्नुभयो । तर ५६औँ मिनेटमा भिनिसियसले लुका मोड्रिचको पासमा गोल गर्दै रियलको अग्रता थप बलियो बनाउनुभयो ।
ग्रानाडा ६७औँ मिनेटमा १० खेलाडीमा समेटियो । रियलका भिनिसियसलाई फल हालेपछि मोन्चुलाई सोझै रातो कार्ड पाउँदै बाहिरिनु भएको थियो । मोन्चुको कार्डलाई लिएर रेफ्रीविरुद्ध खनिनु भएका ग्रानाडाका प्रशिक्षक रोवर्ट मोरेनोलाई पनि दुई मिनेट लगत्यै रेफ्रीले रातो कार्ड देखाउँदै टच लाइन बाहिर पठाउनुभएको थियो ।
ग्रानाडाका खेलाडी र प्रशिक्षकले रातो कार्ड पाएपछि केहीबेर तनावपूर्ण बनेको खेलमा रियलले पुनः अर्को गोल थप्यो । ७६औँ मिनेटमा फर्लान्ड मेन्डीले क्यासेमिरोको पासमा गोल गर्दै रियललाई सानदार जित दिलाउनुभयो । एजेन्सी
जितसँगै शीर्षस्थानमा उक्लिएको रियलले दोस्रो स्थानमा रहेको रियल सोसिडाडलाई एक अंकले पछि पारेको छ । रियलको १३ खेलबाट ३० अंक छ । १४ खेल सकेको सोसिडाडको २९ अंक छ ।
घरेलु मैदानमा आइतबार रातिनै भएको खेलमा भ्यालेन्सियासँग गोलरहित बराबरीमा रोकिएपछि सोसिडाडले शीर्षस्थान गुमाएको हो । तेस्रो स्थानमा रहेको सेभियाले २८ अंक बनाएको छ । रियलसँग पराजित ग्रानाडा ११ अंक सहित १८औँ स्थानमा छ ।