फुटबल | खेलकुद |

रियलको कठिन जित


काठमाडौँ, मङ्सिर १६ गते । स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको रियल म्याड्रिडले एथलेटिक बिल्बाओमाथि कठिन जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियलले एथलेटिक बिल्बाओलाई १–० गोलले हरायो ।

रियलको जितमा कप्तान करिम बेन्जेमाले निर्णायक गोल गर्नुभयो । बेन्जेमाले ४०औं मिनेटमा लुका मोड्रिचको पासमा गोल गर्नुभएको थियो । जारी सिजन उच्च लयमा रहनुभएका बेन्जेमाको यो १२औँ गोल हो । बेन्जेमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्षसुचीमा हुनुहुन्छ ।

घरेलु मैदानमा ६२ प्रतिशत बल पोसेसन राखेको रियललाई गोल गर्न भने निकै संघर्ष गर्नुपरेको थियो । दोस्रो हाफमा रियलको लगातार प्रयासमा बिल्बाओका गोलरक्षक युनई सिमोन बाधक बन्नुभयो । बिल्बाओले पनि राम्रा अवसर खेर फालेको थियो ।

जितसँगै रियलले शीर्षस्थानमा सात अंकको अग्रता बनाएको छ । लिगमा १५ खेल सकेको रियलको ३६ अंक छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिड र तेस्रो स्थानमा रहेको रियल सोसिडाडको समान २९ अंक छ । एट्लेटिकोले एक खेल कम खेलेको छ । रियलसँग पराजित बिल्बाओ २० अंक सहित आठौं स्थानमा छ । एजेन्सी