ला लिगाको उपाधितर्फ लम्कँदै रियल म्याड्रिड
काठमाडौँ, मङ्सिर १९ गते । रियल म्याड्रिडले स्पेनिस ला लिगाको उपाधि दौड थप बलियो बनाएको छ । शनिबार राति भएको खेलमा रियलले बलियो प्रतिद्वन्द्वी रियल सोसिडाडलाई उसैको मैदानमा २–० गोलले हरायो । जितसँगै रियलले शीर्षस्थानमा आठ अंकको अग्रता बनाएको हो ।
रियलको जितमा भिनिसियस जुनियर र लुका जोभिकले गोल गर्नुभयो । दुवै गोल दोस्रो हाफमा गरेको रियलका लागि भिनिसियसले ४७औँ मिनेटमा खाता खोल्नुभयो । उहाँले लुका जोभिकको पासमा गोल गर्नुभएको हो । जारी लिगमा भिनिसियसको यो ब्यक्तिगत १०औँ गोल हो ।
५७औँ मिनेटमा लुका जोभिकले क्यासमिरोको पासमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाउनुभयो । सोसिडाडले १३ वटा पोस्ट प्रहार गरेपनि गोल गर्न सकेन । जितसँगै शीर्षटोली रियलको १६ खेलबाट ३९ अंक पुगेको छ । पराजित सोसिडाड २९ अंक सहित पाँचौँ स्थानमा झरेको छ । दोस्रो स्थानमा रहेको सेभियाको ३१ अंक छ ।
शनिबार रातिनै भएको खेलमा सेभियाले भिल्लारियललाई १–० गोलले हरायो । घरेलु मैदानमा सेभियालाई जिताउन लुकास ओकम्पोस नायक बन्नुभयो । लुकासले १६औँ मिनेटमा गर्नुभएको गोल सेभियाका लागि प्रयाप्त बन्यो । पराजित भिल्लारियल १६ अंक सहित १३औँ स्थानमा छ ।
बार्सिलोना र एट्लेटिको म्याड्रिडले भने हार खेपेको छ । दुवै टोलीले घरेलु मैदानमा हार खेपेका हुन् । बार्सिलोला रियल बेटिससँग १–० गोलले स्तब्ध बन्यो । एट्लेटिको मालोर्कासँग २–१ गोलले पराजित भयो ।
बार्सिलोनालाई हराएसँगै ३० अंक बनाएको बेटिस तेस्रो स्थानमा छ । पराजित बार्सिलोना २३ अंक सहित सातौँ स्थानमा छ । एट्लेटिकोलाई हराएसँगै १९ अंक बनाएको मालोर्का १२औँ स्थानमा उक्लिएको छ । २९ अंक बनाएको एट्लेटिको चौथो स्थानमा झरेको छ । एजेन्सी