बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो
काठमाडौँ, मङ्सिर २३ गते । स्पेनिस पावर हाउस बार्सिलोना च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह ‘ई’ अन्तर्गत बुधबार राति भएको अन्तिम खेलमा बार्सिलोना जर्मन क्लब बायर्न म्युनिखसँग ३–० गोलले पराजित भयो ।
यही समूहको अर्को खेलमा बेन्फिकाले डाइनामो किभलाई २–० गोलले पराजित गरेपछि बार्सिलोनाको च्याम्पियन्स लिग यात्रा समाप्त भएको हो । संयोगबस १७ बर्षअघि बार्सिलोना बाहिरिँदा प्रशिक्षक जाभी हर्नान्डेज टोलीको खेलाडी हुनुहुन्थ्यो । उहाँ झण्डै दुई दशकपछि प्रशिक्षक बन्दा बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरण पार गर्न सकेन । यस समूहमा शतप्रतिशत जित निकालेको बायर्नले ६ खेलबाट १८ अंक बनाएको छ । पराजित बार्सिलोना सात अंक जोड्दै तेस्रो स्थानमा रह्यो ।
घरेलु मैदानमा बायर्नलाई जिताउन थोमस मुलरले ३४औँ, लेरोय सानेले ४३औँ र जमल मुसिएलाले ६२औँ मिनेटमा गोल गर्नुभयो । खेल भर बायर्नको दबाब झेलेको बार्सिलोनाले एउटै गोल फर्काएन सकेन । बार्सिलोनाले यसअघिको खेलमा पनि बायर्नसँग ३–० गोललेनै पराजित भएको थियो । यस समूहबाट बोन्फिका उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ । दोस्रो स्थानमा रहेको बेन्फिकाले आठ अंक बनायो । अन्तिममा रहेको डाइनामो किभले एक अंकमा सिमित भयो ।
समूह ‘एच’ बाट युभेन्ट्स र चेल्सीले अन्तिम १६ मा स्थान बनायो । बुधबार राति भएको खेलमा युभेन्ट्सले माल्मोलाई १–० गोलले हरायो । चेल्सीले जेनिटसँग १–० गोलको बराबरी खेल्यो । जितसँगै १५ अंक बनाएको युभेन्ट्स शीर्षस्थानमा रह्यो । १३ अंक बनाएको चेल्सी दोस्रो, पाँच अंक बनाएको जेनिट तेस्रो र एक अंकमा सिमित माल्मो अन्तिममा रह्यो ।
समूह ‘एफ’ को खेलमा म्यानचेस्टर युनाइटेड योङ ब्वाइजसँग १–१ गोलको बराबरीमा रोकियो । बराबरीसँगै ६ खेलबाट ११ अंक बनाएको युनाइटेड विजेता बन्यो । पाँच अंक बनाएको योङ ब्वाइज अन्तिममा रहँदै बाहिरियो । यस समूहबाट एक खेल खेल्न बाँकी रहेको भिल्लारियल र एटलान्टाबीचको खेलले नकआउट चरणमा पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ । बुधबार हिमपातका कारण यी दुईबीचको खेल रोकिएको हो । अहिले दोस्रो स्थानमा रहेको भिल्लारियलको सात र तेस्रो स्थानमा रहेको एटलान्टाको ६ अंक छ ।
समूह ‘जी’ बाट लिले र साल्जबर्गले नकआउट चरणमा स्थान बनाएका छन् । अन्तिम खेलमा लिलेले वल्फ्सबर्गलाई ३–१ गोल र साल्जबर्गले सेभियालाई १–० गोलले हरायो । जितसँगै शीर्षस्थानमा रहेको लिलेले ६ खेलबाट ११ अंक बनायो । उपविजेता साल्जबर्गले १० अंक बनायो । पराजित सेभिया ६ अंक सहित तेस्रो र पाँच अंक बर्नाको वल्फ्सबर्ग अन्तिममा रह्यो । एजेन्सी