बंगलादेशसँग नेपालको बराबरी
काठमाडौँ, मङ्सिर २६ गते । बंगलादेशमा जारी साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग गोलरहित बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा दुवै टोलीले गोल गर्ने मौका गुमाएका थिए ।
बराबरीसँगै नेपाल र बंगलादेशले एक एक अंक बाँडेका छन् । शनिबारनै भएको अर्को खेलमा भुटानले श्रीलंकालाई ५–० गोलले पराजित गरेको छ । भुटानको जितमा पेमा याङजोमले दुई गोल गर्नुभयो । छिरिङ छोदेन र सोनाम ल्हामोले एक एक गोल थप्नुभएको थियो । भुटानले अर्को गोल श्रीलंकाबाट उपहार पाएको थियो ।
नेपालले दोस्रो खेल बुधबार श्रीलंकासँग, तेस्रो खेल भुटानसँग १७ तारिख र अन्तिम खेल भारतसँग १९ तारिख खेल्नेछ । राउन्ड रोबिन लिगका आधारमा सञ्चालित च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंका सहभागी छन् । शीर्ष दुई टोलीबीच फाइनल खेल डिसेम्बर २१ तारिख हुनेछ ।