फुटबल | खेलकुद |

सिटी, लिभरपुल र चेल्सी विजयी

काठमाडौँ, मङ्सिर २६ गते । इङ्लिस प्रिमियर लिगमा शीर्षटोली म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सी विजयी भएका छन् । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले १० खेलाडीमा समेटिएको वल्भ्सलाई १–० गोलले हरायो ।

सिटीको जितमा रहिम स्टर्लिङले निर्णायक गोल गर्नुभयो । रहिमले ६६औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्नुभएको हो । वल्भ्सका मौटिन्होले डिबक्स भित्र ह्यान्ड गरेपछि सिटीले पेनाल्टीको मौका पाएको थियो ।

यसअघि पहिलो हाफमा राहुल जिमिनेज दोहारो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि वल्भ्स १० खेलाडीमा समेटिएको थियो । जितसँगै शीर्षस्थानमा रहेको सिटीको १६ खेलबाट ३८ अंक बनाएको छ । पराजित वल्भ्स २१ अंक सहित आठौँ स्थानमा छ ।

यसैगरी अर्को खेलमा लिभरपुलले एस्टन भिल्लामाथि संघर्षपूर्ण जित निकालेको छ । घरेलु मैदानमा लिभरपुललाई जिताउन मोहम्मद सलाहले ६७औँ मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गर्नुभयो । विपक्षी टेरन मिङ्सले सलाहलाई डिबक्सभित्र फल गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो । जितसँगै दोस्रो स्थानमा रहेको लिभरपुलको ३७ अंक छ । पराजित एस्टन भिल्ला १९ अंक सहित १२औँ स्थानमा छ ।

अर्को खेलमा चेल्सीले लिड्स युनाइटेडलाई ३–२ गोलले पराजित गरेको छ । चेल्सीको पूनरागमन जितमा जर्गिन्होले दुई तथा मासन माउन्टले एक गोल गर्नुभयो । लिड्सका राफिन्हा र जोइ गेलहार्टले गोल गरेपनि टोलीको हार टरेन ।

जितसँगै तेस्रो स्थानमा रहेको चेल्सीको ३६ अंक छ । पराजित लिड्स १६ अंक सहित १५औँ स्थानमा छ । अर्को खेलमा क्रिस्टियानो रोनाल्डोको निर्णायक गोल सहयोगमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीलाई १–० गोलले पराजित गरेको छ । आर्सनलले साउथह्याम्पटनलाई ३–० गोलले स्तब्ध बनाएको छ । एजेन्सी