फुटबल | खेलकुद |

म्याड्रिड डर्वीमा रियलको बाजी

काठमाडौँ, मङ्सिर २७ गते । स्पेनिस ला लिगा अन्तर्गत सिजनको पहिलो ‘म्याड्रिड डर्वी’ मा रियल म्याड्रिडले बाजी मारेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा रियलले एट्लेटिको म्याड्रिडलाई २–० गोलले हरायो ।

रियलको सहज जितमा कप्तान करिम बेन्जेमा र मार्काे असेन्सियोले गोल गर्नुभयो । रियलले पहिलो र दोस्रो हाफमा एक एक गोल गरेको थियो । १६औँ मिनेटमा बेन्जेमाले भिनिसियस जुनियरको पासमा गोल गर्दै रियलको उत्साह जगाउनुभयो । जारी सिजन बेन्जेमाको यो १३औँ गोल हो । उहाँ सर्वाधिक गोल गर्ने खेलाडीको शीर्षसुचीमा हुनुहुन्छ ।

त्यसपछि ५७औँ मिनेटमा असेन्सियोले भिनिसियस जुनियरकै पासमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाउनुभयो । ६१ प्रतिशत बल पोसेसन राखेको रियलले थप गोल गर्ने अवसर गुमाएपनि सहज जित निकाल्यो । यता ३९ प्रतिशत बल पोसेसन राखेको एट्लेटिकोले नौ वटा पोस्ट् प्रहार गरेपनि गोलरहित हार खेप्यो । रियलका भिनिसियस जुनियर ‘म्यान अफ दी म्याच’ हुनुभयो ।

जितसँगै रियलले उपाधि दौड थप बिलयो बनाएको छ । शीर्षस्थानमा रहेको रियलको १७ खेलबाट ४२ अंक पुगेको छ । रियल दोस्रो स्थानमा रहेको सेभियाभन्दा आठ अंकले अगाडी छ । एक खेल कम खेलेको सेभियाको ३४ अंक छ । पराजित एट्लेटिको २९ अंक सहित चौथो स्थानमा छ ।

आइतबार रातिनै भएको अर्को खेलमा बार्सिलोना ओसासुनासँग २–२ गोलको बराबरीमा रोकिएको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा बार्सिलोनाले अंक बाँडेको हो । बार्सिलोनाका लागि निको गोन्जालेजले १२औँ र र अब्देसामद इजालजौलीले ४९औँ मिनेटमा गोल गर्नुभयो । घरेलु टोली ओसासुनाका डेभिड गार्सियाले १४औँ र चिमी एभिलाले ८६औँ मिनेटमा बराबरी गोल फर्काउनुभयो ।

बराबरीसँगै २४ अंक बनाएको बार्सिलोना आठौं स्थानमा छ । २२ अंक बनाएको ओसासुना १०औँ स्थानमा छ । अर्को खेलमा रियल बेटिसले रियल सोसिडाडलाई ४–० गोलले हरायो । घरेलु मैदानमा फराकिलो जित निकालेको बेटिस तेस्रो स्थानमा छ । बेटिसले १७ खेलबाट ३३ अंक बनाएको छ । पराजित सोसिडाड २९ अंक सहित पाँचौँ स्थानमा छ ।

अर्को खेलमा भिल्लारियलले रायो भालेकानोलाई २–० गोलले पराजित गरेको छ । विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष प्रशारण भइरहेको छ । एजेन्सी