प्रिमियर लिगमा लेस्टरको सहज जित
काठमाडौँ, मङ्सिर २७ गते । इङ्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले सहज जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा लेस्टरले न्युक्यासल युनाइटेडलाई ४–० गोलले हरायो ।
लेस्टरको जितमा युरी टिलेमान्सले दुई तथा पाट्सन डाँका र जेम्स म्याडिसनले एक एक गोल गर्नुभयो । लेस्टरले ३८औँ मिनेटमा युरी टिलेमान्सको पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । ५७औँ मिनेटमा पाट्सन डाँकाले गोल गर्दै लेस्टरको अग्रता दोब्बर बनाउनुभयो । ८१औँ मिनेटमा युरी टिलेमान्सले व्यक्तिगत दोस्रो गर्दै टोलीको अग्रता थप बलियो बनाउनुभयो ।
८५औँ मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टरलाई सहज जित दिलाउनुभयो । खेलभर लेस्टरको दबाब झेलेको न्युक्यासलले गोल फर्काउन सकेन । जितसँगै लेस्टर आठौँ स्थानमा उक्लिएको छ । लेस्टरको १६ खेलबाट २२ अंक छ । पराजित न्युक्यासल रेलिगेसनको दबाबमा छ । १० अंक बनाएको न्युक्यासल १९औँ स्थानमा छ ।
आइतबार रातिनै भएको अर्को खेलमा क्रिस्टल प्यालेसले एभर्टनलाई ३–१ गोलले हराएको छ । बर्नली र वेस्ट हामले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । एजेन्सी