लिगका तीन खेल पोखरामा
काठमाडौँ, मङ्सिर २७ गते । शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लबले तीनवटा खेल पोखरा रंगशालामा खेल्ने भएको छ । पोखरा रंगशालालाई घरेलु मैदान बनाउने निर्णय गरेको मनाङले पाँचौँ, सातौँ र आठौँ चरणको खेल पोखरामा खेल्न लागेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार लिगको नवौँ चरणसम्मको खेल तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार मनाङले पाँचौँ चरणमा पुस ३ गते नेपाल पुलिस, सातौँ चरणमा पुस १७ गते ब्रिगेड ब्वाइज र आठौँ चरणमा पुस २४ गते च्यासल युथ क्लबसँग पोखरामा खेल्ने छ ।
एन्फाले मनाङको आग्रहलाई स्वीकार गरेर पोखरामा लिगका केही खेल सञ्चालन गर्न लागेको जनाएको छ । तालिका अनुसार पोेखराका तीन खेल बाहेक अन्य खेल दशरथ रंगशालामा हुनेछ ।