फुटबल | खेलकुद |

लिगमा जावलाखेललाई पहिलो अंक

काठमाडौँ, मङ्सिर २७ गते । ललितपुरको जावलाखेल क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अंकको खाता खोलेको छ । दशरथ रंगशालामा सोमबार साँझ भएको ललितपुर डर्वीमा जावलाखेलले ब्रिगेड ब्वाइज क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

बल पोसेसनमा अब्बल देखिएपनि जावलाखेलले गोल गर्न सकेन । यता ब्रिगेडले पनि राम्रा मौका गुमाएको थियो । जावलाखेलका सुरज ठकुरी ‘म्यान अफ दी म्याच’ हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । ब्रिगेडका रोशन रानामगरलाई ‘इमर्जिङ प्लेयर’ को पुरस्कार प्रदान गरियो ।

बराबरीसँगै चार खेलबाट पाँच अंक बनाएको ब्रिगेड सातौँ स्थानमा छ । अघिल्ला तीन खेलमा पराजित जावलाखेल एक अंक सहित १३औँ स्थानमा छ । चौथो चरणको खेलसँगै थ्रीस्टार, एनआरटी र पुलिसले पनि समान पाँच अंक बनाएका छन् ।

शीर्षस्थानमा रहेको साविक विजेता मच्छिन्द्र र दोस्रो स्थानमा हरेको मनाङको १०-१० अंक छ । तेस्रो स्थानमा रहेको त्रिभुवन आर्मी र संकटा क्लबको समान आठ अंक छ । सात अंक बनाएको नवप्रवेशी सातदोवाटो युथ क्लब पाँचौं स्थानमा छ ।

चार अंक बनाएको च्यासल १०औँ तथा समान दुई अंक बनाएको फ्रेण्ड्स र हिमालयन शेर्पा क्लब क्रमशः ११औँ र १२औँ स्थानमा छ । अन्तिममा रहेको एपीएफ क्लबको एक अंक छ ।