फुटबल | खेलकुद |

साफ फुटबलमा उपविजेता खेलाडी नगदसहित सम्मानित

काठमाडौँ, पुस ६ गते । बङ्गलादेशको ढाकामा दुई महिनाअघि सम्पन्न साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई मङ्गलबार सरकारले नगद पुरस्कारसहित सम्मान गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमबीच खेलाडीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले जनही पाँच लाख रुपियाँ पुरस्कारबाट सम्मान गर्नुभयो । सरकारले साफ उपविजेता टोलीलाई यसअघि नै नगद पुरस्कारको घोषणा गरेको थियो ।

गत अक्टोबरमा माल्दिभ्समा भएको साफको फाइनलमा नेपाल भारतसँग ३–० गोलले पराजित भएको थियो । साफको इतिहासमा नेपाल पहिलो पटक फाइनलमा पुगेको हो । पूर्व घोषणा गरेअनुसार सरकारले खेलाडीलाई पाँच लाख, तीन जना प्रशिक्षकलाई जनही तीन लाख रुपियाँ र अफिसियललाई प्रमाणपत्रसहित सम्मान गरेको हो । युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको सम्मान कार्यक्रममा विभागीय मन्त्री महेश्वरजंग गहतराज पनि सहभागी हुनुहुन्थ्यो ।

सम्मानित हुने खेलाडीहरुमा कप्तान किरण चेम्जोङ, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, गौतम श्रेष्ठ, सुजल श्रेष्ठ, तेज तामाङ, रोहित चन्द, पुजन उपरकोटी, सुमन लामा, नवयुग श्रेष्ठ, सुरज ज्यु ठकुरी, नितिन थापा, विशाल राई, सुनिल बल, आशिष लामा, सन्तोष तामाङ, आयुष घलान, विशाल श्रेष्ठ, मनीष डाँगी र कमल थापा हुनुहुन्छ ।

सम्मानित हुने प्रशिक्षकहरुमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी, किरण श्रेष्ठ र विकाश मल्ल हुनुहुन्छ । टोलीको ब्यवस्थापकमा मधुसुदन उपाध्याय र फिजियोमा आविष्कार पुडासैनी हुनुहुन्छ । सम्मान कार्यक्रममा एन्फाका पदाधिकारीको पनि उपस्थिति  थियो ।