फुटबल | खेलकुद |

बेन्जेमा चम्किएपछि रियल विजयी

काठमाडौँ, पुस ८ गते । कप्तान करिम बेन्जेमा चम्किएपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा एथलेटिक बिल्बाओमाथि रोचक जित निकालेको छ । बुधबार राति भएको खेलमा रियलले बिल्बाओलाई उसैको मैदानमा २–१ गोलले हरायो ।

रियलको जितमा दुवै गोल बेन्जेमाले गर्नुभयो । बिल्बाओका ओइहान सान्सेटले सान्त्वना गोल फर्काउनुभयो । तीनवटै गोल खेलको सुरुवाती १० मिनेट भित्र भएको थियो । रियलले चौथो मिनेटमै खाता खोलेको थियो ।

बेन्जेमाले टोनी क्रुसको पासमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाउनुभयो । सातौँ मिनेटमा बेन्जेमाले ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । जारी लिगमा उच्च लयमा रहनुभएका बेन्जेमाको यो १५औँ गोल हो ।

बिल्बाओले १०औँ मिनेटमा गोल फर्कायो । ओइहान सान्सेटले ओस्कार डि मार्काेसको पासमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गर्नुभयो । प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा दुवै टोलीको गोल गर्ने प्रयास सफल भएन ।

६० प्रतिशत बल पोसेसन राखेपनि रियलको जितमा पहिलो हाफकै नतिजा प्रयाप्त बन्यो । कोरोना संक्रमणका कारण रियल टोलीका ११ खेलाडीबिनै बिल्बाओसँग भिडेको थियो । तरपनि बिल्बाओले त्यसको फाइदा उठाउन सकेन । रियलका बेन्जेमा ‘म्यान अफ दी म्याच’ हुनुभयो ।

जितसँगै रियलले शीर्षस्थानमा आठ अंकको अग्रता बनाएको छ । रियलको १९ खेलबाट ४६ अंक छ । दोस्रो स्थानमा रहेको सेभियाको ३८ अंक छ । सेभियाले एक खेल कम खेलेको छ । पराजित बिल्बाओ २४ अंक सहित १०औँ स्थानमा छ ।

बुधबार रातिनै भएको अर्को खेलमा साविक विजेता एट्लेटिको म्याड्रिडलाई ग्रानाडाको नमिठो झट्का लागेको छ । एट्लेटिको ग्रानाडासँग २–१ गोलले पराजित भयो । ग्रानाडाको घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले सुरुवाती अग्रता लिएपनि जोगाउन सकेन ।

खेलको दोस्रो मिनेटमै जोओओ फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाउनुभयो । ग्रानाडाका डार्विन माचिसले १७औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । ६१औँ मिनेटमा जर्ग मोलिनाले गोल गर्दै ग्रानाडाको अग्रता दोब्बर बनाउनुभएको थियो ।

६० प्रतिशत बल पोसेसन राखेपनि दोस्रो हाफमा गोल फर्काउन नसक्दा एट्लेटिको हार खेप्न बाध्य बन्यो । जितसँगै ग्रानाडा १२औँ स्थानमा उक्लिएको छ । ग्रानाडाको १८ खेलबाट २२ अंक पुगेको छ । पराजित एट्लेटिको २९ अंक सहित पाँचौँ स्थानमा छ । विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजनले प्रतक्ष प्रशारण गरेको छ । एजेन्सी