लिगमा एनआरटी र एपीएफको बराबरी
काठमाडौँ, पुस ९ गते । न्यृुरोड टिम (एनआरटी) र विभागीय टोली एपीएफ क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् । दशरथ रंगशालामा शुक्रबार भएको छैटौँ राउन्डको पहिलो खेलमा एनआरटी र एपीएफले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
रोमाञ्चक खेलमा एनआरटीका लागि एनआरटीका लागि दर्शन गुरुङले दुई तथा मेसुके ओलुमोईले एक गोल गर्नुभयो । एपीएफका आशिष लामाले दुई तथा दिपेश धिमालले एक गोल गर्नुभएको थियो । खेलमा सुरुआती अग्रता एनआरटीले लिएको थियो । ३२औँ मिनेटमा दर्शन गुरुङले मेसुके ओलोमोउको पासमा हेड गोल गर्दै एनआरटीलाई अग्रता दिलाउनुभयो ।
पाँच मिनेट लगत्यै आशिष लामाले गोल गर्दै एपीएफलाई बराबरीमा ल्याउनुभयो । त्यसपछि ४८औँ मिनेटमा दर्शन गुरुङले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई पुनः अग्रता दिलाउनुभयो । ६०औँ मिनेटमा मेसुके ओलुमोईले गोल गर्दै एनआरटीलाई थप बलियो बनाउनुभयो ।
तर ६५औँ मिनेटमा दिपेश धिमालले गोल गर्दै एपीएफलाई खेलमा फर्काउनुभयो । ६९औँ मिनेटमा एपीएफका नविन लामाले गोल गर्दै एपीएफलाई हारबाट जोगाउनुभयो । एनआरटीका दर्शन गुरुङ ‘म्यान अफ दी म्याच’ हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । एपीएफका दिपेश धिमाल ‘इमर्जिङ प्लेयर’ चुनिनुभयो । उहाँले पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
जितसँगै ६ खेलबाट सात अंक बनाएको एनआरटी छैटौँ स्थानमा उक्लिएको छ । पाँच अंक बनाएको एपीएफ ११औँ स्थानमा छ । लिग अन्तर्गत आजै साँझ नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।