ब्रिगेडलाई हराउँदै संकटा लिगको तेस्रो स्थानमा
काठमाडौँ, ११ पुस । संकटा क्लब शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा आइतबार भएको अहिले खेलमा संकटाले ब्रिगेड ब्वाइज क्लबलाई ३–० गोलले हरायो । संकटाले लिगमा अपराजित यात्रा पनि कायम राखेको छ ।
एकपक्षीय खेलमा संकटालाई जिताउन उत्तम राईले दुई गोल गर्नुभयो । लक्ष्मण रुचालले एक गोल थप्नुभयो । उत्तमले १२औँ मिनेटमा हेडमार्फत गोलको खाता खोल्नुभयो । २८औँ मिनेटमा उत्तमले व्यक्तिगत दोस्रो गोलगर्दै संकटाको अग्रता दोब्बर बनाउनुभयो ।
३८औँ मिनेटमा लक्ष्मण रुचालले ब्रिगेडका गोलरक्षक अगाडी बढेको मौकामा खाली पोस्टमा गोल गर्नुभयो । दोस्रो हाफमा दुवै टोलीबाट गोल नहुँदा संकटा सजिलै विजयी भयो । संकटाका फोडे फोफाना ‘म्यान अफ दी म्याच’ हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । दुई गोल गर्न सफल संकटाकै उत्तम राई ‘इमर्जिङ प्लेयर’ घोषित हुनुभयो । उहाँले पाँच हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो ।
जितसँगै संकटाले ६ खेलबाट १२ अंक बनाएको छ । पराजित ब्रिगेड पाँच अंक सहित ११औँ स्थानमा छ । शीर्षस्थानमा रहेको मच्छिन्द्रको १४ अंक छ । दोस्रो स्थानमा रहेको मनाङको १३ अंक छ । तेस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको नौ अंक छ । आजै आर्मीले थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।