थ्रीस्टारसँग बराबरीमा रोकियो आर्मी
काठमाडौँ, पुस ११ गते । उपाधि दावेदार त्रिभुवन आर्मी क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्रीस्टार क्लबसँग बराबरी खेल्दै अंक बाँडेको छ । दशरथ रंगशालामा आइतबार भएको खेलमा थ्रीस्टारसँग बराबरीमा रोकिएपछि आर्मीको एएफसी कप छनोट खेल्ने सम्भावना समेत समाप्त भएको छ ।
आर्मीको बराबरीले एएफसी कप छनोटको दौडमा शीर्ष टोली मच्छिन्द्र र मनाङ मात्र छन् । सातौ चरणमा मनाङले ब्रिगेड ब्वाइज र मछिन्द्रले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । त्यही खेलले एएफसी छनोट कप छनोटको टुंगो लाग्नेछ ।
थ्रीस्टारविरुद्धको प्रतिस्पर्धात्मक खेलमा आर्मीले पहिलो हाफमा राम्रा अवसर गुमाएको थियो । थ्रीस्टारले पनि गोल गर्न नसक्दा बराबरीमा चित्त बुझायो । आर्मीका मिडफिल्डर जगजित श्रेष्ठ ‘म्यान अफ दी म्याच’ हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । आर्मीकै दिनेश हेम्जन ‘इमर्जिङ प्लेयर’ घोषित हुनुभयो । उहाँले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो ।
लिगमा आर्मीको यो चौथो बराबरी हो । ६ खेलबाट १० अंक बनाएको आर्मी चौथो स्थानमा झरेको छ । सात अंक बनाएको थ्रीस्टार सातौँ नै स्थानमा छ । थ्रीस्टारको पनि यो चौथो बराबरी हो । पछिल्ला चार खेलका थ्रीस्टारले गोल गर्न सकेको छैन ।
थ्रीस्टारले समान सात अंक बनाएको न्युरोड टिम (एनआरटी) लाई गोल अन्तरले पछि पारेको छ । शीर्षस्थानमा रहेको साविक विजेता मछिन्द्रको १४ अंक छ । दोस्रो स्थानमा रहेको मनाङको १३ र तेस्रो स्थानमा रहेको संकटाको १२ अंक छ ।