फुटबल | खेलकुद |

नौ गोलको थ्रिलरमा सिटीको बाजी

काठमाडौँं, १२ पुस । नौ गोलको थ्रिलरमा म्यानचेस्टर सिटीले लेस्टर सिटीमाथि बाजी मारेको छ । इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष टोली सिटीले लेस्टरलाई ६–३ गोलले हरायो ।

घरेलु मैदानमा सिटीलाई जिताउन रहिम स्टर्लिङले २५औँ र ८७औँ मिनेटमा दुई गोल गर्नुभयो । केभिन डि ब्रुयनले पाँचौँ मिनेटमा खाता खोल्नुभयो । रियाद महारेजले १४औँ, इल्केए गुन्डोगानले २१औँ र एमेरिक लापोर्टेले ६९औँ मिनेटमा एक एक गोल गर्नुभयो । लेस्टरका जेम्स म्याडिसनले ५५औँ, एडेमोला लोकमनले ५९औँ र केलिची इहानाचोले ६५औँ मिनेटमा गोल गरेपनि टोलीको हार टरेन ।

जितसँगै सिटीले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ । सिटीको १० खेलबाट ४७ अंक पुगेको छ । एक खेल कम खेल्दै दोस्रो स्थानमा रहेको लिभरपुलको ४१ अंक छ । पराजित लेस्टर २२ अंक सहित १०औँ स्थानमा छ ।

तेस्रो स्थानमा रहेको चेल्सीको पनि ४१ अंक छ । आइतबार रातिनै भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई उसैको मैदानमा ३–१ गोलले हरायो । पराजित एस्टन २२ अंक सहित ११औँ स्थानमा छ । आइतबार रातिनै भएको अर्को खेलमा आर्सनलले रेलिगेसनमा रहेको नर्विच सिटीलाई ५–० गोलले पराजित गरेको छ ।

जितसँगै चौथो स्थानमा रहेको आर्सनलको ३५ अंक छ । पराजित नर्विच १० अंक सहित तालिकाको अन्तिममा छ । अन्य खेलमा टोट्टनहामले क्रिस्टल प्यालेसलाई ३–०, ब्राइटनले ब्रेन्टफर्डलाई २–० र साउथह्याम्पटनले वेस्ट हामलाई ३–२ गोलले पराजित गरेको छ । एजेन्सी ।