मनाङको एएफसी कप खेल्ने सम्भावना कायम
काठमाडौँ, पुस १७ गते । मनाङ मस्र्याङ्दी क्लबले एएफसी कप छनोट खेल्ने सम्भावनालाई कायम राखेको छ । शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत पोखरा रंगशालामा शनिबार भएको खेलमा मनाङले ब्रिगेड ब्वाइज क्लबलाई १–० ले हराउँदै एएफसी कप छनोटको सम्भावना कायम राखेको हो ।
मनाङको जितमा कप्तान अन्जन विष्टले गोल गर्नुभयो । अन्जनले पहिलो हाफको इन्जुरी समयमा गोल गर्नुभएको थियो । ब्रिगेड पेनल्टीको अवसर गुमाउँदा हार खेप्न बाध्य भयो । १७औँ मिनेटमा ब्रिगेडका शिरिर लेखीको पेनाल्टी प्रहार पोस्टमाथि हुईकिएको थियो ।
जितसँगै मनाङ शीर्षस्थानमा उक्लिएको छ । मनाङले सात खेलबाट १६ अंक बनाएको छ । एक खेल कम खेलेको मच्छिन्द्र १४ अंक सहित दोस्रो स्थानमा छ । मच्छिन्द्रले आइतबार नेपाल पुलिससँग खेल्नेछ । पुलिसलाई हराउन सके मात्र मच्छिन्द्रले एएफसी कप छनोट खेल खेल्नेछ । बराबरी या हार खेपेमा मनाङको भाग्य खुल्नेछ । मनाङसँग पराजित ब्रिगेड ब्वाइज पाँच अंकसहित १२औँ स्थानमा छ ।