फुटबल | खेलकुद |

म्यानचेस्टर सिटीको पुनरागमन जित

काठमाडौँ, पुस १८ गते । शीर्षटोली म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले १० खेलाडीमा समेटिएको आर्सनललाई उसैको मैदानमा २–१ गोलले हरायो ।

सिटीको जितमा रियाद महारेज र रोड्रीले गोल गर्नुभयो । आर्सनलका बुकायो साकाको गोल सान्त्वना बन्यो । खेलमा सुरुवाती अग्रता आर्सनलले लिएको थियो । साकाले ३१अाैं मिनेटमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनु भयो ।

५७औँ मिनेटमा महारेजले पेनाल्टीमा बराबरी गोल गर्दै सिटीलाई खेलमा फर्काउनु भएको थियो । दुई मिनेट लगत्यै आर्सनल १० खेलाडीमा समेटियो । गाब्रियल दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि आर्सनल कमजोर बन्यो । त्यसपछि इन्जुरी समयमा रोड्रीले गोल गर्दै सिटीलाई महत्वपूर्ण जित दिलाउनुभयो ।

जितसँगै सिटीले शीर्षस्थानमा ११ अङ्कको अग्रता लिएको छ । सिटीको २१ खेलबाट ५३ अङ्क पुगेको छ । दोस्रो स्थानमा रहेको चेल्सीको २० खेलबाट ४२ अङ्क छ । दुई खेल कम खेलेको लिभरपुल ४१ अङ्कसहित तेस्रो स्थानमा छ । सिटीसँग पराजित आर्सनल ३५ अङ्कसहित चौथो स्थानमा छ ।

शनिबार राति भएको अन्य खेलमा टोट्टनहामले वाटफोर्डलाई १–० र वेस्ट हामले क्रिस्टल प्यालेसलाई ३–२ गोलले पराजित गरेको छ । एजेन्सी ।