चेल्सी र लिभरपुलको बराबरी
काठमाडौँ, पुस १९ गते । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुलले बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैदानमा आइतबार राति भएको खेलमा चेल्सीले लिभरपुललाई २–२ गोलको बराबरीमा रोकेको हो ।
लिभरपुलका लागि साडियो माने र मोहम्मद सलाहले गोल गर्नुभयो । चेल्सीका माटियो कोभासिस र क्रिस्टियन पुलिसिसले बराबरी गोल फर्काउनुभयो । सबै गोल पहिलो हाफमा सम्भव भएको खेलमा लिभरपुलले सुरुवाती अग्रता लिएको थियो ।
नवौँ मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाउनुभयो । १९औँ मिनेटमा मोहम्मद सलाहले ट्रेन्ट अलेक्सान्डर अर्नाेल्डको पासमा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाउनुभयो ।
त्यसपछि ४२औँ मिनेटमा माटियो कोभासिसले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउनुभयो ।
पहिलो हाफको इन्जुरी समयमा पुलिसिसले एङ्गोलो कान्टेको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा सकियो । बराबरीसँगै २१ खेलबाट ४३ अंक बनाएको चेल्सी दोस्रो स्थानमा यथावत छ । एक खेल कम खेलेको लिभरपुल ४२ अंक सहित तेस्रो स्थानमा छ ।
शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको ५३ अंक छ । अन्य खेलमा लिड्स युनाइटेडले बर्नलीलाई ३–१, ब्राइटनले एभर्टनलाई ३–२ र ब्रेन्टफर्डले एस्टन भिल्लालाई २–१ गोलले पराजित गरेको छ । एजेन्सी