फुटबल | खेलकुद |

हिमालयन शेर्पा लिगको पाँचौँ स्थानमा

काठमाडौँ, पुस १९ गते । हिमालयन शेर्पा क्लब शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको पाँचौँ स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा सोमबार भएको खेलमा शेर्पाले नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १–० गोलले हरायो ।

शेर्पाको कठिन जितमा कप्तान विश्वास श्रेष्ठले गोल गर्नुभयो । विश्वासले ४५औँ मिनेटमा पेनाल्टीमा गरेको गोल शेर्पाको जितमा प्रयाप्त बन्यो । डिबक्स भित्र त्रिदेव गुरुङलाई सातदोवाटोका पिटर सेगुनले लडाएपछि शेर्पाले पेनाल्टीको अवसर पाएको थियो ।

दोस्रो हाफमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेका थिए । दोस्रो हाफको इन्जुरी समयमा सातदोवाटो पेनाल्टीमा चुक्दा हार खेप्न बाध्य भयो । मार्टिन एडेल्फे सिलो नङ्गाको पेनाल्टी प्रहारलाई शेर्पाका गोलरक्षक दीप कार्कीले विफल पार्नुभएको थियो । डिबक्स भित्र शेर्पाका जीवन गुरुङले मार्टिनलाई नै लडाएपछि सातदोवाटोले पेनाल्टीको अवसर पाएको थियो ।

शेर्पाका कप्तान विश्वास श्रेष्ठ ‘म्यान अफ दी म्याच’ हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । शेर्पाकै गोलरक्षक दीप काकी ‘इमर्जिङ प्लेयर’ घोषित हुनुभयो । उहाँले पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

खेलपछि शेर्पाका प्रशिक्षक युगल किशोर राईले तीन अंक पाएपनि दबाब झेलेको बताउनुभयो । ‘आज हामीले भन्दा सातदोवाटोले राम्रो खेल्यो । हाम्रो पेनाल्टीमा गोल भयो । सातदोवाटोले पेनाल्टी मिस गर्यो । क्लबहरुले करोडौँ लगानी गरेर लिग खेलेको छ । मैदान पनि थोत्रो भईसक्यो । रेफ्रीले खेलाडी र प्रशिक्षकलाई हेपिरहेका छन् । एन्फाले लिगको ब्यवस्थापनमा पनि ध्यान दिए हुन्थ्यो,’ राईले भन्नुभयो ।

सातदोवाटोका सहायक प्रशिक्षक सुरज महर्जनले खेल राम्रो खेलेपनि पेनाल्टी मिस गर्दा हार खेपेको बताउनुभयो । हारले रेलिगेसनको दबाब बढेको पनि उहाँले बताउनुभयो । लगातार तेस्रो जित निकालेको शेर्पाले सात खेलबाट ११ अंक बनाएको छ । ११ अंकनै बनाएको त्रिभुवन आर्मी क्लब चौथो स्थानमा छ । पराजित सातदोवाटो आठ अंक सहित आठौँ नै स्थानमा छ ।

सातौँ राउन्डको खेलसँगै शीर्षस्थानमा रहेको मच्छिन्द्र फुटबल क्लबको १७ अंक छ । मच्छिन्द्र एएफसी कपका लागि छनोट समेत भएको छ । दोस्रो स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लबको १६ र तेस्रो स्थानमा रहेको संकटाको १३ अंक छ ।

छैटौँ स्थानमा रहेको थ्रीस्टार र सातौँ स्थानमा रहेको एनआरटीको समान १० अंक छ । सात अंक बनाएको जाउलाखेल नवौँ, समान ६ अंक बनाएको एपीएफ र नेपाल पुलिस क्लब १०औँ र ११औँ तथा पाँच अंक बनाएको ब्रिगेड ब्लाईज १२औँ स्थानमा छ । पाँच अंक बनाएको च्यासल र तीन अंक बनाएको फ्रेन्ड्सले रेलिगेसन जोगाउन सकेको छैन । लिग अन्तर्गत आठौँ चरणको खेल शुक्रबारदेखि सुरु हुने एन्फाले जनाएको छ ।