मैत्रीपूर्ण फुटबलका लागि ३४ खेलाडी घोषणा
काठमाडौँ, पुस १९ गते । नेपालले मोरिसससँग जनवरी २९ र फेब्रुअरी १ मा खेल्ने मैत्रीपूर्ण फुटबलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बन्द ३४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ ।
प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सोमबार शहिद स्मारक ‘ए’ डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत समेटेर प्रशिक्षण क्याम्पका लागि प्रारम्भिक टोलीको घोषणा गर्नुभएको हो ।
दशरथ रंगशालामा हुने नेपाल र मोरिससबीचको दुवै खेललाई विश्व फुटबल महासंघ (फिफा) ले अन्तर्राष्ट्रिय ‘म्याच क्यालेन्डर’मा समावेश गर्ने समेत एन्फाले जनाएको छ । अफ्रिकी देश मोरिसस फिफा वरियतामा एक सय ७२औँ स्थानमा छ । नेपाल एक सय ६९औँ स्थानमा छ ।
नेपालले यसअघि गत भदौमा दशरथ रंगशालामा भारतसँग दुई वटा मूत्रीपूर्ण फुटबल खेलेको थियो । पहिलो खेलमा भारतलाई १–१ गोलको बराबरीमा रोकेको नेपालले दोस्रो खेलमा नेपाल भारतसँग २–१ गोलले पराजित भएको थियो ।
प्रारम्भिक टोलीका खेलाडीहरु :
विशाल श्रेष्ठ, दीप कार्की, किरणकुमार लिम्बु, सत्रुघन चौधरी, टिकेन्द्र थापा, आशिष लामा, आयुस घलान, आकाश बुढामगर, अनन्त तामाङ, अन्जन विष्ट, अरिक विष्ट, विमल घर्तीमगर, विशाल राई, दर्शन गरुङ, देवेन्द्र तामाङ, दिनेश हेमजन, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, क्षितिज रत्न चुन्जु, अनिश डाँगी, नविन गुरुङ, नितिस थापा, पुजन उपरकोटी, सन्तोष तामाङ, सुवास गरुङ, सुदीप गरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकुरी, सुशिल राई र तेज तामाङ ।