स्पेनिस ला लिगामा सेभियाको कठिन जित
काठमाडौँ, पुस २० गते । स्पेनिस ला लिगाको दोस्रो स्थानमा आसिन सेभियाले रेलिगेसनको दबाबमा रहेको काडिजमाथि कठिन जित निकालेको छ । सोमबार राति भएको खेलमा सेभियाले काडिजलाई उसैको मैदानमा १–० गोलले हरायो ।
प्रतिस्पर्धात्मक खेलमा सेभियालाई जिताउन लुकास ओकम्पोसले निर्णायक गोल गर्नुभयो । लुकासले ५८औँ मिनेटमा इभान राकिटिकको पासमा गोल गर्नुभएको थियो । ७५ प्रतिशत बल पोसेसन राखेको सेभियालाई गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो ।
बलियो सेभियालाई रोक्ने काडिजको रणनिति पहिलो हाफमा सफल भएपनि दास्रो हाफमा विफल बन्यो । घरेलु मैदानमा नौ वटा पोस्ट प्रहार गरेको काडिज अन्तमा हार खेप्न बाध्य बन्यो । निर्णायक गोल गरेका सेभियाका लुकास ओकम्पोस ‘म्यान अफ दी म्याच’ हुनुभयो ।
जितसँगै सेभियाले १९ खेलबाट ४१ अंक बनाएको छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको २० खेलबाट ४६ अंक छ । तेस्रो स्थानमा रहेको रियल बेटिसको ३३ अंक छ । पराजित काडिज १४ अंकसहित १९औं स्थानमा छ ।
सोमबार रातिनै भएको खेलमा भिल्लारियलले लिभान्तेलाई ५–० गोलले हरायो । घरेलु मैदानमा भएको एकपक्षीय खेलमा भिल्लारियललाई जिताउन जेरार्ड मोरेनोले दुई गोल गर्नुभयो । बोउलाए डिया, पाउ टोरेस र मनु त्रिगेरोसले एक एक गोल गर्नुभएको थियो । जितसँगै २८ अंक बनाएको भिल्लारियल आठौं स्थानमा छ । आठ अंक बनाएको लिभान्ते तालिकाको अन्तिममा छ ।
अर्को खेलमा एथलेटिक बिल्बाओले १० खेलाडीमा समेटिएको ओसासुनालाई उसैको मैदानमा ३–१ गोलले हराएको छ । बिल्बाओको जितमा ओइहान सानसेटले ह्याट्रिक गर्नुभयो । ओसासुनाका किके गार्सियाको सुरुवाती गोल सान्त्वना गोलमा परिणत भएको थियो ।
जितसँगै २७ अंक बनाएको बिल्बाओ १०औँ स्थानमा छ । पराजित ओसासुना २२ अंक सहित १४औं स्थानमा छ । विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । एजेन्सी