म्यानचेस्टर युनाइटेडलाई वल्भ्सको झट्का
काठमाडौँ, पुस २० गते । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडलाई वल्भ्सको नमिठो झट्का लागेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा युनाइटेड वल्भ्ससँग १–० गोलले पराजित भयो ।
युनाइटेडलाई उसैको मैदानमा हराउन वल्भ्सका जोओ मौटिन्होले निर्णायक गोल गर्नुभयो । मौटिन्होले ८२औं मिनेटमा गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाउनुभयो । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि राम्रा अवसर बनाएका थिए । ५१ प्रतिशत बल पोसेसन राखेको युनाइटेडले गोल फर्काउन सकेन । युनाइटेडको लगातार प्रयासमा वल्भ्सका गोलरक्षक जोस सा बाधक बन्नुभएको थियो ।
हारसँगै युनाइटेडले छैटौँ स्थानमा उक्लने अवसर गुमायो । १९ खेलबाट ३१ अंक बनाएको युनाइटेड सातौँ स्थानमा छ । समान खेलबाट २८ अंक बनाएको वल्भ्स आठौँ स्थानमा उक्लिएको छ । शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको २१ खेलबाट ५३ अंक छ । दोस्रो स्थानमा रहेको चेल्सीको ४३ र तेस्रो स्थानमा रहेको लिभरपुलको ४२ अंक छ । एजेन्सी