फुटबल | खेलकुद |

पोखरामा मनाङको गोलबर्षा

काठमाडौँ, पुस २४ गते । शहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले च्यासल सुथ क्लबमाथि गोलबर्षा गरेको छ । पोखरा रंगशालामा शनिबार भएको खेलमा मनाङले च्यासललाई ५–० गोलले हरायो ।

एकपक्षीय खेलमा मनाङको जितमा ओलावाले अफिजले ह्याट्रिक गर्नुभयो । एडिलाजा सोमिडे र दिनेश राजवंशीले एक एक गोल गर्नुभएको थियो । मनाङले तेस्रो मिनेटमा सोमिडेको गोलमा अग्रता लिएको थियो । ४३औँ मिनेटमा ओलावालेले गोल गर्दै मनाङको अग्रता दोब्बर बनाउनुभयो । ८६औँ मिनेटमा दिनेशले गोल गर्दै मनाङको अग्रता थप बलियो बनाउनुभयो ।

इन्जुरी समयमा ओलावालेले लगातार दुई गोल थप्दै ह्याट्रिक पूरा गर्नुभयो । यससँगै मनाङले पोखारमा शतप्रतिशत जित निकाल्यो । पोखरामा तीन खेल खेलेको मनाङले यसअघि विभागीय टोली नेपाल पुलिस र ब्रिगेड ब्वाइज क्लबलाई हराएको थियो ।

ह्याट्रिक गर्न सफल ओलावाले ‘म्यान अफ दि म्याच’ हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । ‘इमर्जिङ प्लेयर’ घोषित च्यासलका आशिष राईले पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो । जितसँगै दोस्रो स्थानमा यथावत रहेको मनाङले आठ खेलबाट १९ अंक बनाएको छ । समान खेलबाट पाँच अंक बनाएको च्यासल रेलिगेसनको दबाबमा छ ।