फुटबल | खेलकुद |

पीएसजीको उपाधि दौड बलियो

काठमाडौँ, माघ २ गते । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा उपाधि दौड बलियो बनाएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा शीर्षटोली पीएसजीले ब्रेस्टलाई २–० गोलले हरायो । घरेलु मैदानमा पीएसजीलाई जिताउन केलियन एमबाप्पे र थिलो केरहरले गोल गर्नुभयो ।

एमबाप्पेले ३२औँ मिनेटमा जर्जिन्हो विजनाल्डमको पासमा गोल गर्नुभएको थियो । त्यसपछि ५३औँ मिनेटमा थिलो केरहरले नुनो मेन्डेसको पासमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाउनुभयो । ब्रेस्टविरुद्ध एमबाप्पेले लगातार गोलको अवसर बनाएपनि थप गोल भने गर्न सक्नुभएन । जितसँगै पीएसजीले शीर्षस्थानमा ११ अंकको अग्रता बनाएको छ ।

पीएसजीको २१ खेलबाट ५० अंक पुगेको छ । दोस्रो स्थानमा रहेको निसको ३९ अंक छ । पराजित ब्रेस्ट २५ अंक सहित १३औँ स्थानमा छ । अर्को खेलमा लेन्सले सेन्ट इटिनेलाई उसैको मैदानमा २–१ गोलले पराजित गरेको छ । जितसँगै चौथो स्थानमा उक्लिएको लेन्सको ३३ अंक छ । पराजित इटिने १२ अंक सहित अन्तिममा छ । एजेन्सी