फुटबल | खेलकुद |

इङ्लिस प्रिमियर लिग : वाटफोर्डमाथि नर्विच हावी

काठमाडौँ, माघ ८ गते । इङ्लिस प्रिमियर लिगमा रेलिगेसनको दबाबमा रहेका नर्विच सिटी र वाटफोर्डबीचको भिडन्तमा नर्विच हावी बनेको छ । शुकबार राति भएको खेलमा नर्विचले वाटफोर्डलाई उसैको मैदानमा ३–० गोलले हरायो । जितसँगै नर्विचले रेलिगेसन रेखा छल्यो । पराजित वाटफोर्डको रेलिगेसन रेखा छल्ने प्रयास सफल बन्न सकेन ।

घरेलु मैदानमा १० खेलाडीमा समेटिएको वाटफोर्डलाई हराउन नर्विचका जोसुआ सारगेन्टले दुई गोल गर्नुभयो । नर्विचले अर्को गोल वाटफोर्डबाट आत्मघाती उपहार पाएको थियो । ५१औँ मिनेटमा जोसुआ सारगेन्टले टिमु पुक्कीको पासमा गोल गर्दै नर्विचलाई अग्रता दिलाउनुभएको थियो । ७४औँ मिनेटमा जोसुआले मिलोट रासिकाको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो ।

त्यसपछि ७८औँ मिनेटमा वाटफोर्ड १० खेलाडीमा समेटियो । इमानुएल डेनिस दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि वाटफोर्ड थप कमजोर बन्यो । इन्जुरी समयमा वाटफोर्डका जुराज कुकाको प्रहार आत्मघाती गोलमा परिणत भएपछि नर्विच सजिलै विजयी भयो ।

जितसँगै नर्विचले रेलिगेसन रेखा छलेको छ । १७औँ स्थानमा रहेको नर्विचको २२ खेलबाट १६ अंक छ । पराजित वाटफोर्ड १४ अंकसहित १८औँ स्थानमा छ । १२ अंक बनाएको न्युक्यासलल युनाइटेड १९औँ र ११ अंक बनाएको बर्नली अन्तिम एवं २०औँ स्थानमा छ । एजेन्सी