एट्लेटिकोले जित्दा सेभिया बराबरीमा रोकियो
काठमाडौँ, माघ ९ गते । स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले पूनरागमन जित निकाल्दा दोस्रो स्थानको सेभिया बराबरीमा रोकिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा एट्लेटिकोले भ्यालेन्सियालाई ३–२ गोलले हरायो । सेभियाले सेल्टा भिगोसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।
एट्लेटिकोले दुई गोलले पछि परेको स्थिति उल्ट्याउँदै रोमाञ्चक जित निकालेको हो । एट्लेटिकोको जितमा म्याथिअस कुन्हा, एन्जल कोरेआ र मारियो हर्माेसोले गोल गर्नुभयो । भ्योलन्सियाका युुनुस मुसाह र ह्युगो डुरोले गोल गर्नुभएको थियो ।
खेलमा सुरुवाती अग्रता भ्यालेन्सियाले लिएको थियो । २५औँ मिनेटमा युनुस मुसाहले गोन्कालो गुइडेसको पासमा गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाउनुभयो । ४४औँ मिनेटमा ह्युगो डुरोले टोनी लाटोको पासमा गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाउनुभयो । दोस्रो हाफमा खेलमा फर्किएको एट्लेटिकोले ६४औँ मिनेटमा पहिलो गोल फर्काएको थियो । म्याथिअस कुन्हाले यान्निक कारास्कोको पासमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गर्नुभयो ।
त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा एन्जल कोरेआले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याउनुभयो । लगत्यै मारियो हर्माेसोले म्याथिअस कुन्हाको पासमा गोल गर्दै एट्लेटिकोलाई रोमाञ्चक जित दिलाउनुभयो । जितसँगै २१ खेलबाट ३६ अंक बनाएको एट्लेटिको चौथो स्थानमा यथावत छ । पराजित भ्यालेन्सिया २९ अंक सहित नवौँ स्थानमा छ ।
यसैगरी अर्को खेलमा दोस्रो स्थानमा रहेको सेभियालाई उसैको मैदानमा रोक्न सेल्टा भिगोका फ्रान्को सर्वीले ३७औं र इगो आसपासले ४०औं मिनेटमा गोल गर्नुभयो । पहिलो हाफमै दुई गोलले पछि परेको सेभियाले दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो । ७१औँ मिनेटमा पुपु गोमेजले गोल गर्दै सेभियालाई खेलमा फर्काउने प्रयास गर्नुभयो । ओलिभर टोरेसले ७४औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।
त्यसपछि थप गोल नहुँदा सेभिया अंक बाँड्न बाध्य भयो । बराबरीसँगै दोस्रो स्थानमा यथावत रहेको सेभियाको २२ खेलबाट ४६ अंक छ । सेभिया शीर्षस्थानमा रहेको रियल म्याड्रिड भन्दा तीन अंकले पछाडि छ । एक खेल कम खेलेको रियलको ४९ अंक छ । सेभियालाई रोकेको सेल्टा भिगो २७ अंक सहित ११औँ स्थानमा छ ।
ला लिगाकै अन्य खेलमा भिल्लारियलले मालोर्कालाई ३–० र काडिजले लिभान्तेलाई २–० गोलले पराजित गरेको छ । विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजनले प्रतक्ष प्रशारण गरेको छ । एजेन्सी