लिभरपुल र चेल्सी विजयी
काठमाडौँ, माघ १० गते । इङ्लिस प्रिमियर लिगमा दोस्रो स्थानमा रहेको लिभरपुल र तेस्रो स्थानको चेल्सी विजयी भएको छ । आइतबार राति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–१ गोलले हरायो । घरेलु मैदानमा चेल्सीले टोट्टनहामलाई २–० गोलले स्तब्ध बनायो ।
लिभरपुलको जितमा भर्जिल भानडाइक, एलेक्स अक्सलेड चेम्वरलेन र फाविन्होले गोल गर्नुभयो । क्रिस्टल प्यालेसका ओड्सोनी इडुआर्डले सान्त्वना गोल फर्काउनुभयो । भानडाइकले आठौँ मिनेटमा गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाउनुभएको थियो ।
३२औँ मिनेटमा चेम्वरलेनले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाउनुभयो । ५५औँ मिनेटमा क्रिस्टल प्यालेसका ओड्सोनीले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काएने प्रयास गर्नुभयो । तर ८९औँ मिनेटमा फाविन्होले गोल गर्दै लिभरपुललाई सानदार जित दिलाउनुभयो ।
जितसँगै लिभरपुलले २२ खेलमा ४८ अंक बनाएको छ । शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको २३ खेलबाट ५७ अंक छ । पराजित क्रिस्टल २४ अंकसहित १३औँ स्थानमा छ । दोस्रो स्थानमा रहेको चेल्सीको २४ खेलबाट ४७ अंक छ । आइतबार राति चेल्सीलाई जिताउन हाकिम जियाच र थियागो सिल्भाले गोल गर्नुभयो । ४७औँ मिनेटमा हाकिम जियाचले कालम हड्सन ओडोइको पासमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाउनुभयो ।
त्यसपछि ५५औँ मिनेटमा थियागो सिल्भाले मासन माउन्टको पासमा हेड गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाउनुभएको थियो । टोट्टनहामले गोल गर्न लायक अवसर बनाउन सकेन । पराजित टोट्टनहाम ३६ अंकसहित सातौँ स्थानमा छ । अन्य खेलमा आर्सनल र बनर्लीले गोलरहित तथा लेस्टर सिटी र ब्राइटनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । एजेन्सी